चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा खाली भएको उपकुलपति लगायतको पदमा राजनीतिक भागबन्डाबाट नियुक्त गरिने भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा योग्यताको आधारमा नेतृत्व चयन गर्न आग्रह गरेका हुन्। योग्यताको आधारमा नभएर राजनीतिक भागबन्डामा शैक्षिक संस्थाहरूको नेतृत्व चयन गर्ने परिपाटी शिक्षाको गुणस्तरमा ठूलो ह्रास ल्याएको उनको भनाई छ।
राजनीतिक रुपमा नेतृत्व चयन हुँदा विश्वविद्यालय तथा प्रतिष्ठानहरू रोजगारीका लागि अयोग्य, अदक्ष जनशक्ति उत्पादन गर्ने थलोमा परिणत भएको विज्ञप्तिमा उल्लेख छ।
उनले शैक्षिक संस्था राजनीतिक दलले कार्यकर्ता भर्ती र दोहन गरेर खाने केन्द्र बनेको आरोप लगाएतका छन्।
शैक्षिक संस्थाहरूमा पदाधिकारीहरूको चयन योग्यताका आधारमा हुने ऐनको लागि दुई दशकदेखि लडिरहेका डा केसीले ऐन शीघ्र ल्याउने र त्यतिन्जेलसम्म प्रस्तावित ऐनमा प्रावधान भए अनुरूप योग्यताको आधारमा पदाधिकारीहरू चयन गर्ने सम्झौता कार्यान्वयन नभएको गुनासो गरे।
‘शैक्षिक नेतृत्वका पदहरू समयमा पदपूर्ति नगरी लामो समयसम्म खाली राखी चाकडी र घूसखोरीको लिलाम बढाबढमा राख्ने परम्परा बसालेकोमा समेत हाम्रो गम्भीर आपत्ति छ’ डा. केसीले भनेका छन्, ‘तसर्थ पदाधिकारीहरू योग्यताको आधारमा चयन गर्न र पदाधिकारी नियुक्ति मापदण्ड लगायतका उच्च शिक्षा ऐन तुरुन्त पारित गर्न सरकारसँग माग गर्दछौँ।’
इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने, सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपयुक्त दरबन्दी थप्ने, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गर्ने आदि लगायतका हामीसँग भएका सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न र विगतमा राखेका मागहरू पूरा गर्न पनि नेपाल सरकारसँग अनुरोध गरेका छन्।
अन्यथा, सत्याग्रह सहितका आन्दोलन शुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया