उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि पनि उनलाई निगरानी गर्न छाडिएको छैन।
अहिले उनको परिवार बसेको घरमा अपरिचित व्यक्तिले निगरानी गरिरहेका छन्। उनीहरू सादा पोसाकका सुरक्षाकर्मी हुन सक्ने परिवारको आशंका छ।
पाठककी श्रीमती शिखा प्रसाईँले भनिन्, ‘हामीले नचिनेका मान्छेहरू आइरहेका छन्। घर वरपरबाट चियाइरहेका छन्।’
उनका अनुसार, पाटन अदालतबाट निस्किँदा पनि केही व्यक्तिहरूले परिवारका सदस्यलाई पिछा गरेका थिए।
सोमबार मात्र उच्च अदालत पाटनले पत्रकार पाठकलाई ‘कानुनबमोजिमबाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अन्तरिम आदेश निरन्तर हुने कि नहुने भनेर छलफलका लागि अदालतले असार ५ गते (बिहीबार) दुवै पक्षलाई बोलाएको छ।
आदेशमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’
उच्च अदालतको आदेश- पत्रकार पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू
अदालतका अधिकारीहरूका भनाइमा, कानुनबमोजिम धरपकड नगर्नू भनेको यस मुद्दाका सिलसिलामा पक्राउ गर्न नमिल्ने भनेको हो।
अदालतले उनलाई पक्राउ गर्न खोजिएको कारण के हो भनेर खुलाएर १५ दिनभित्र लिखित जवाफ दिन पनि प्रहरी र गृह मन्त्रालयका नाममा आदेश जारी गरिसकेको छ।
Shares

प्रतिक्रिया