भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएको छ।
नक्कली स्यानिटाइजर बिक्री गरिरहेको अवस्थामा फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ।
उपभोक्तालाई फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्मा लगायतको टोलीले फर्मामा छापामारी ओझालाई पक्राउ गरेको हो।
फर्मामा खानतलासी गर्दा नक्कली स्यानिटाइजर फेला परेको प्रहरीले जनाएको छ।
कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ।
Shares

प्रतिक्रिया