छापा खबर


ज्वरोका बिरामी जाँच्नबाट यसरी पन्छिन्छन् काठमाडौँका निजी अस्पताल

ज्वरोका बिरामी जाँच्नबाट यसरी पन्छिन्छन् काठमाडौँका निजी अस्पताल

नेपालखबर
चैत २६, २०७६ बुधबार २:२,

कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन्।

कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न नमानिरहेका खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन्।

सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन्।

चीनमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो।

त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् । तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन्।

कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन्। तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो।

आकस्मिक कक्षमा बुझ्न जाँदा सुरुमा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो।

त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए।

उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा सीधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो । ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो।

रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो । डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो।

ग्वार्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ । अस्पतालले सुुरुदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालका डा.सरिता पाण्डेले दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad