सात वर्षअघि पोखराका ईश्वरबहादुर कार्कीको कलेजो फेल भएको थियो। जसले उनलाई पेटमा पानी जम्ने, बेलाबेलामा होस हराएको जस्तो हुने, रगत नै बान्ता हुने तथा बेहोस हुने समस्या देखिन थालेको थियो।
उपचार गराउन ईश्वरका परिवारले काठमाडौँको मेडिसिटी अस्पताल लगेका थिए। चिकित्सकले लिभर सिरोसिस भएको बताए। चिकित्सकले प्रत्यारोपण गराउनु पर्ने बताएका थिए। तर, उपचार गरेर निको भइहाल्छ कि भनेर ईश्वरको परिवारले उनलाई भारत लग्यो। ईश्वरलाई भारतको दुई ठूला अस्पतालमा देखाइयो। भारतका चिकित्सकले पनि कलेजो प्रत्यारोपण गराएर मात्र बचाउन सकिए जनाएपछि उनको परिवार निराश भएर नेपाल फर्कियो।
पुन उनीहरू मेडिसिटी अस्पताल नै गए। सो समय मेडिसिटीले कलेजो प्रत्यारोपण गराउन अनुमति लिइसकेको थियो। स्वास्थ्य सेवा विभागबाट ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्राध्यापक डा उमिदकुमार श्रेष्ठले प्रत्यारोपण गराउन अनुमति लिएका थिए।
ईश्वरको स्वास्थ्य अवस्था खस्किँदै गए पछि चिकित्सकले छिटो प्रत्यारोपण गराउनु पर्ने भन्न थाले। कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको अस्पतालले ईश्वरको पहिलो प्रत्यारोपण गराएर कलेजो प्रत्यारोपण सुरु गर्ने योजना बनायो।
ईश्वरका २६ वर्षीय छोरा आयुष कार्की कलेजो दान दिन तयार भए। आयुषको स्वास्थ्य परीक्षण गर्दा उनी बाबुलाई कलेजो प्रत्यारोपण गराउन सक्ने भए।
कलेजो प्रत्यारोपण गराउन तयारी गरिरहँदा ईश्वरको स्वास्थ्य अवस्था भने खस्किँदै गयो। कहिले संक्रमण भएर आईसीयूमा भर्ना गर्नु पर्ने त कहिले शरीरमा क्रियाटिनको मात्रा बढेर बेहोस हुने जस्ता समस्या बढ्न थाल्यो।
‘प्रत्यारोपण गर्ने तयारी सकिसकेपछि उहाँमा विभिन्न स्वास्थ्य समस्या देखिएकाले दुईपटकसम्म प्रत्यारोपण डेट पछाडि सार्यौँ। स्वास्थ्य अवस्थामा सुधार भएपछि मात्र प्रत्यारोपण गर्ने तयारी पुन गर्यौँ,’ कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले भने, ‘जेठको ८ गते १४ घण्टा लगाएर छोराको कलेजो उहाँमा प्रत्यारोपण गर्न सफल भएका छौँ।’
‘शल्यक्रिया गर्दा कलेजो दाता (डोनर) आयुषको ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) ईश्वरको १३ घण्टा लागेको थियो,’ डा शाह थप्छन्, ‘२१ दिनको अस्पताल बसाइपछि अहिले स्वस्थ भएर डिस्चार्ज भइसक्नु भएको छ। अबको तीन महिनामा बिरामीको कलेजो पूर्ण रूपमा वृद्धि भइसक्छ।’

बाबुलाई कलेजो दान गरेका आयुष एक सातापछि डिस्चार्ज भए। आयुषको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। डा शाह कलेजो दान गर्ने र दिने दुवै व्यक्तिको कलेजो प्रत्यारोपण भएको २८ दिनसम्म ६० देखि ७० प्रतिशत सम्म वृद्धि हुने बताउँछन्।
‘प्रत्यारोपण भएको २८ दिन सम्म कलेजो द्रुत रूपमा वृद्धि हुन्छ, तीन महिनासम्म सत प्रतिशत वृद्धि भइसक्छ,’ उनी थप्छन्, ‘तीन महिनासम्म पौष्टिक खाना खाने, तौल उचाल्ने। र गाडी चलाउन हुँदैन।’
५६ वर्षका ईश्वर छोराको कलेजो पाएर स्वस्थ भएका छन्। ईश्वरकी श्रीमती बबिता कार्की ७ वर्षदेखि कलेजो रोगसँग लडेका श्रीमानले नयाँ जीवन पाएकोमा खुसी छिन्।
‘उपचारमा निकै भौतारियौँ, कहिले कुन अस्पताल कहिले कुन अस्पताल, एक पटक त भारत सम्म पुग्यौँ,’ उनी भन्छिन्, ‘छोराले मेरो श्रीमानको जीवन मलाई दान दियो। कलेजो फेल भयो त सबै आशा भरोसा नै मरिसकेको थियो। अब नयाँ आशा जागेको छ।’
आफनो कलेजो बुबालाई दिन पाएकोमा आयुष पनि खुसी छन्।
‘छोरा भएको धर्म निभाउन पाए, मेरो अंग काटेर दिदा बुवाले जीवन पाउनु भयो, मेरो लागि त यो भन्दा खुसी के हुन सक्छ र?’ उनी भन्छन्, ‘प्रत्यारोपणपछि म स्वस्थ भइसकेको छु, अब बुवा अस्पताल बस्नुपर्दैन।’
मेडिसिटीले २०७६ सालमा कलेजो प्रत्यारोपण गर्न स्वास्थ्य सेवा विभागबाट अनुमति लिएको थियो।
‘अनुमति लिएको ६ वर्षपछि सफल कलेजो प्रत्यारोपण गर्न सक्यौँ,’ हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्राध्यापक डा उमिदकुमार श्रेष्ठ खुसी हुँदै सुनाउँछन्, ‘कलेजो प्रत्यारोपण गर्न विदेश जानु नपर्ने र विदेशीलाई नेपालमा प्रत्यारोपणका लागि ल्याउने योजना बनाएका छौँ।’
अस्पतालले भारतको अमृता अस्पतालसँग सहकार्य गरी कलेजो प्रत्यारोपण सुरु गरेको छ। प्रत्यारोपणका लागि ३५ लाख खर्च भएको अस्पतालले जनाएको छ। यो सँगै मेडिसिटी कलेजो प्रत्यारोपण सुरु गराउने पहिलो निजी अस्पताल बनेको छ।
यसअघि २ निजी मेडिकल कलेजले प्रत्यारोपण सुरु गरेका छन्। ललितपुरको किष्ट मेडिकल कलेज र भरतपुरको चितवन मेडिकल कलेजले प्रत्यारोपण गरिसकेका छन्। भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले सुरु गरेको कलेजो प्रत्यारोपण २ सरकारी अस्पताल र ३ निजी अस्पतालमा सुरु भएको छ।

नेपालमा पहिलो कलेजो प्रत्यारोपण
नेपालमा २०७३ सालमा देखि कलेजो प्रत्यारोपण गर्न सुरु गरिएको हो। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा पहिलोपटक २०७३ मंसिर २२ गते दक्षिण कोरियाको सोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका प्रत्यारोपण शल्यचिकित्सकसहितको ७ विज्ञ टोलीले कलेजो प्रत्यारोपण गरेको थियो। बिरामी बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिएकी थिइन्। अस्पतालले नागाको निशुल्क प्रत्यारोपण गरेको थियो।
त्यसयता प्रत्यारोपण केन्द्रले ३४ जनाको कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालले जेठ १ गते मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण गर्यो। सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङका अंग झिकेर प्रत्यारोपण गरिएको थियो। उनको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला एक महिलामा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
मानव अंगले कलेजो प्रत्यारोपण सुरु गरेको तीन वर्षपछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू गर्यो। त्रिविले २०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो, जसका लागि भारतको अपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोली नेपाल आएको थियो। त्यसयता शिक्षण अस्पतालमा १६ जनाको कलेजो प्रत्यारोपण गरिएको छ। ७ वटा प्रत्यारोपण विदेशी चिकित्सक विना नै गरेको छ।

२०७७ सालदेखि चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपण सुरु गरेको थियो। अस्पतालले २०७७ चैत ८ गते ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो। उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन्। अस्पतालले ६ जनाको प्रत्यारोपण गरिसकेको छ।
ललितपुरको किष्ट मेडिकल कलेजले २०८० सालदेखि कलेजो प्रत्यारोपण सुरु गरेको हो। भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा सुरु गरेको किष्ट अस्पतालले हालसम्म १२ जनाको कलेजो प्रत्यारोपण गरेको छ।
किष्टले २०८० असोजमा एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको थियो। जसमा १८ घण्टा समय र १०० जना जनशक्ति लागेको थियो। चितवन निवासी ३४ वर्षीया महिलामा कलेजो र मिर्गौला प्रत्यारोपण भएको थियो। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।
कजेलो प्रत्यारोपण सर्जन डा रामबावु साहले नेपालमा जनसंख्याको अनुपात र उपचारका लागि आउने बिरामीको संख्या हेर्दा वार्षिक दुईदेखि तीन सयजनालाई प्रत्यारोपण आवश्यक पर्छ।
विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण २०७३ सालयता नेपालमा सुरु भए पनि विदेशी चिकित्सकहरूको सहयोग लिने गरिएको छ। कलेजो प्रत्यारोपणमा सरकारी र निजीमा लाग्ने खर्च पनि ठूलो अन्तर पाइएको छ। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले १५ देखि २० लाखमा गर्ने प्रत्यारोपण निजीले ३५ लाखसम्म लिने गरेका छन्।

किन देखिन्छ कलेजोमा समस्या?
पेट तथा कलेजो रोग विशेषज्ञ डा शेखर पौडेलका अनुसार कलेजोलाई चिकित्सकीय भाषामा हेपाट भनिन्छ।
‘हेपाटाइटिस भनेको कलेजो सुनिएको अवस्था हो। गुलियो र चिल्लो खाना शरीरलाई बढी भयो भने कलेजोले बढी भएको खाना बोसोको रूपमा जम्मा गरेर राख्छ। त्यही बोसोले कलेजो सुनिएर स्टिटो हेपाटाइटिस देखिन्छ,’ उनी भन्छन्, ‘मद्यपान बढी भयो भने अल्कोहलिक हेपाटाइटिस देखिन्छ। कलेजोमा तामाको मात्रा बढ्दा, शरीरमा बढी भएको तामा पिसाबको माध्यमबाट फाल्ने तत्वको कमी भयो भने पनि कलेजोमा समस्या देखिन्छ।’
डा पौडेलका अनुसार शरीरमा ५ सयभन्दा बढी काम गर्ने अंग हो, कलेजो।
‘कलेजोलाई शरीरको गोदाम पनि भनिन्छ। शरीरलाई आवश्यक तत्व उत्पादन गर्ने, बढी भएको भण्डारण गरेर राख्ने काम कलेजोले गर्छ। कलेजोले काम गर्न सकेन भने शरीरका अन्य अंगले पनि ठिकसँग काम गर्न सक्दैनन्,’ उनले भने।

डा. पौडेलका अनुसार कलेजो शरीरको एकदमै सहनशील अर्थात् एकदम चोट सहन सक्ने अंगमा पनि पर्छ।
‘८० देखि ९० प्रतिशत खराब नभएसम्म कलेजोले आफू बिग्रेको जानकारी दिँदैन। काम गर्न नसक्ने भएपछि मात्र बिग्रिएको थाहा हुन्छ,’ डा पौडेल थप्छन्, ‘पेटमा पानी जम्ने, खुट्टा सुनिने, जन्डिस (कमलपित्त) देखिने, बेहोस हुने, मांसपेशी सुक्न थाल्ने आदि कलेजो बिग्रिएका संकेत हुन सक्छन्। कलेजो बिग्रिएमा रगत नै बान्ता पनि हुन सक्छ। त्यो भनेको अन्तिम अवस्था हो। त्यसलाई लिभर सिरोसिस भनिन्छ। सिरोसिस भइसकेपछि प्रत्यारोपण नै प्रमुख उपचार विधि हो।’
‘कलेजो हाम्रो शरीरमा बोटविरुवाजस्तै बढ्ने अंग पनि हो। कलेजो शरीरको एउटा मात्र त्यस्तो अंग हो, जुन काट्यो भने पलाउँछ,’ उनी भन्छन्, ‘प्रत्यारोपण गरिने व्यक्तिलाई स्वस्थ व्यक्तिको ६० देखि ६५ प्रतिशत कलेजो काटेर प्रत्यारोपण गरिन्छ। कलेजो दान दिने व्यक्तिमा ३० देखि ३५ प्रतिशत राखिन्छ। दान गर्ने व्यक्तिमा २ महिनामा नै कलेजो ९० प्रतिशत बढ्छ। ६ महिनामा सत प्रतिशत बढिसक्छ। औषधिले काम गरेन भने पनि कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ।’
Shares

प्रतिक्रिया