संवैधानिक कानुन व्यवसायी मञ्चले उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीशहरूमाथि इजलासमा भएको आक्रमणको विरोध गरेको छ।
‘राजनीतिक आवरणमा भएको यो अपराध निन्दनीय मात्र नभई प्रचलित कानुनबमोजिम दण्डनीय पनि छ,’ मञ्चले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ।’
‘सभ्य समाजका न्यूनतम मानकहरूसमेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको,’ मञ्चको भनाइ छ।
अध्यक्ष ओमप्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा राजनीतिक आवरणमा अपराध भएको अवस्थामा राज्य संयन्त्रको साथै सम्बन्धित दल वा राजनीतिक समूहको संयन्त्रले पनि दोषीहरूलाई कारबाही गर्नुपर्ने भन्दै ‘अन्यथा, राजनीतिको अपराधीकरणको दुष्चक्रमा मुलुक फस्ने’ औँल्याइएको छ।
विज्ञप्तिमा न्यायाधीशमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गर्दै, यस किसिमका घटना दोहोरिन नदिन र न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा खुसीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले बिहीबार मोसो दलेका थिए।
न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो ।
सोही फैसलाको विरोधमा न्यायाधीशमाथि मोसो प्रहार भएको हो। मोसो दल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया