काठमाडौँको बौद्धमा टिपरले ठक्करबाट मृत्यु हुने पुरुषको सनाखत भएको छ।
काठमाडौँ महानगरपालिका-६ बौद्धस्थित रामहिटीमा गएराति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको थियो।
सुरुमा पहिचान नखुलेका उनको आइतबार बिहान सनाखत भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउने व्यक्ति सोही ठाउँका ६५ वर्षीय राजकुमार पौडेल हुन्।
बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रहरीले नेपाल मेडिकल कलेज जोरपाटी लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको एसपी गिरीले जानकारी दिए।
दुर्घटनापछि टिपरसहित भागेका चालकलाई काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। पक्राउ पर्ने चालक सोही ठाउँका २८ वर्षीय अजय श्रेष्ठ हुन्।
मृतकको शव पोस्ट मार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
Shares

प्रतिक्रिया