समाज


हेर्दाहेर्दै डोरी चुँडियो, अक्सिजनको सिलिन्डर तैरियो अनि सप्तकोसीमा हराए हरदेव र सुरज

हेर्दाहेर्दै डोरी चुँडियो, अक्सिजनको सिलिन्डर तैरियो अनि सप्तकोसीमा हराए हरदेव र सुरज

हरदेव राजवंशी र सुरज साउद


उजिर कार्की
जेठ २४, २०८२ शनिबार ११:४६, काठमाडौँ

सशस्त्र प्रहरीका गोताखोर हरदेव राजवंशी र सुरज साउद नदीभित्र फसेका जनधन कसरी खोज्ने वा उद्धार गर्ने भनेर सप्तकोसी नदीमा डेमो (नक्कली अभ्यास)  देखाउने तयारीमा थिए।

शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलगायत मन्त्री र उच्च प्रशासकहरूको उपस्थितिमा सप्तकोसीमा डेमो देखाउने कार्यक्रम थियो।

केही दिनदेखि जारी अभ्यास बिहीबार सकिँदै थियो। त्यसपछि उनीहरू मुख्यमन्त्रीका अगाडि सप्तकोसीमा हेलिएर देखाउने तयारीमा थिए। 

राजवंशीले दुई वर्ष र साउदले एक वर्षअघि नै गोताखोरसम्बन्धी तालिम पूरा गरेका थिए। त्यसपछि उनीहरूले धेरै उद्धारका काम गरिसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा बताउँछन्। 

बिहीबार दिउँसो ३ बजिसकेको थियो। ५ जना गोताखोरसहितको टोली अभ्यासपछि फर्किने तयारीतिर लागिसकेको थियो। 

तर अन्तिमपटक हेर्छौँ भन्दै सशस्त्र प्रहरी जवानद्वय राजवंशी र साउदले हल बाँधेर नदीभित्र पस्ने तयारी गरे।

गोताखोर नदीभित्र पस्दा एक्लै पस्दैनन्। दुई जना एकअर्काका हात समातेर पस्छन्। उनीहरू अक्सिजनको सिलिन्डर, पानीभित्र हेर्न मिल्ने चस्मा र अन्य बन्दोबस्तसहित नदीमा पस्छन्।

नदीमा पस्दा बाहिरबाट उनीहरूलाई डोरीको सहारा दिइन्छ। 

बिहीबार अभ्यास गर्दा पनि सँगै गएका अर्का सहकर्मीले बोटमा बसेर डोरी समातिरहेका थिए। यसरी बन्दोबस्तका साथ उनीहरू सप्तकोसीमा हेलिए। 

तर एकछिनमा एउटा डोरी चुँडियो। अर्को डोरी पनि उतैबाट तानेजस्तै टाइट भयो। 

बाहिरबाट डोरी समातिरहेका सहकर्मीले त्यो डोरीलाई पनि हल्का छाड्दै गए।

तर एकछिनमा गोताखोरले बोकेर गएको अक्सिजनको सिलिन्डर माथि तैरियो। त्यसपछि पनि उनीहरू भने पानीभित्र रहेका सहकर्मी पौडिएर निस्कने आशामा हेर्दै थिए।

गोताखोरको तालिम गरेर उद्धारसमेत खटिएका हुनाले सितिमिति पानीमा डुब्लान् ठान्ने कुरै भएन। 

पौडिएर निस्केलान् भनेको पनि केही समयसम्म निस्किएनन्। पानीभित्र बसिरहेको अनुमान गर्न पनि अक्सिजनको सिलिन्डर बाहिर आइसकेको थियो। 

त्यसपछि उनीहरूको टोलीमा खैलाबैला चल्यो। बोट लिएर कोही नदीतिर डुलाउन थाले। अरूले यताउता हेरे।

तर भेटिएनन्। हराको हरायै भए। सशस्त्रले खोजीका लागि थप जनशक्ति पठायो। नेपाल प्रहरीले पनि नदी किनारमा खोजी गर्‍यो।

बिहीबार दिनभर खोज्दा पनि दुवैजनाको पत्तो लागेन।

शुक्रबार थप जनशक्तिसहित सशस्त्रले बिहानै खोजी सुरु गर्‍यो। 

अन्तत: उनीहरू डुबेको स्थानभन्दा अन्दाजी ३ किलोमिटर तल नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला पर्‍यो। 

नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत अर्का जवान सुरज साउद भने अझै बेपत्ता रहेको सहप्रवक्ता थापाले बताए। 

राजवंशीको शव पोस्टमार्टमपछि शुक्रबार नै झापा लगेर दाहसंस्कार गरिएको गौरादह नगरपालिका ८ का वडाध्यक्ष गणेशकुमार राजवंशीले जानकारी दिए। हरदेव वडाध्यक्ष गणेशका भान्जा हुन्। 

हरदेवका बुबाको मृत्यु भइसकेको छ। उनी एक्ला छोरा थिए। अढाई वर्षकी छोरी, श्रीमती र आमा गौरादह ८ स्थित घरमा छन्। अब उनीहरू सहाराविहीन भए। 

हरदेवसँग नदीमा पसेर धेरै काम गरिसकेको अनुभव थियो।

गएको भदौ ३ गते दिउँसो २ः४० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा पुलबाट २७ वर्षका सुनील साह मोटरसाइकल र मोबाइल पुलको बीचमा छाडेर नदीमा हामफाले। धरान उपमहानगरपालिका १६ का सुनील नदीमै बेपत्ता भएको जानकारीपछि हरदेवसहितको गोताखोर टोली सप्तकोसीमा पस्यो। 

भदौ ४ गते दिउँसो २ः५० बजेदेखि चतराको पुलदेखि बोरावनसम्म गोताखरले खोजी गर्दा पनि उनी फेला नपरेपछि टोली अपराह्न साढे ४ बजेतिर फिर्ता भयो। 

धरानकै पृथ्वी चोकका अन्दाजी ५० वर्षका शिवकुमार सोनी २०८१ असोज २० गते बिहान साढे ११ बजेतिर चतराबाट सप्तकोसी नदीमा हामफाले। धरानबाट अटो रिजर्भ गरेर आएका उनी नदीमा फाल हानेको जानकारी सशस्त्र प्रहरीसम्म पुग्यो।

भोलिपल्ट हरदेवसमेतको टोलीले सप्तकोसीमा दिनभर खोज्यो। १० जना गोताखोर र अन्यसहितले खोजी गर्दा पनि फेला नपरेपछि २४ जनाको टोली बेलुका कार्यालय फर्कियो। 

हरदेवका लागि नदीको काम नौलो थिएन। उनी हरेक काम अनुशासित र उत्कृष्ट ढंगले गर्थे। गएको चैत १८ गते बराह बाहिनी पकलीले उनलाई पुरस्कारसमेत दिएको थियो। बाहिनीको स्थापना दिवसको अवसरमा दौड र पौडीमा प्रथम भएका उनलाई महानिरीक्षक राजु अर्यालले पुरस्कार हस्तान्तरण गरेका थिए। 

पौडीमा अब्बल सावित भएका हरदेव पानीभित्रैबाट सदाका लागि अस्ताए। 

भेटिएनन् सुरज 
आफ्ना दुई जवान नदीमा बेपत्ता भएपछि सशस्त्र प्रहरीले खोजी गर्न ७० सदस्यीय टोली खटाएको छ। सँगै हात बाँधेर नदीमा पसेका हरदेवको शव शुक्रबार बिहान तैरिएको अवस्थामा भेटिए पनि डोटीका सुरजको अवस्था भने अझै अज्ञात छ। 

हरदेव र सुरजले जस्तै सशस्त्र प्रहरीले हाल ३० स्थानमा मनसुनजन्य विपद् उद्धारको पूर्वाभ्यास गरिरहेका छन्। कतै सशस्त्र प्रहरीले मात्रै अभ्यास गर्छ त कतै अन्य सुरक्षा फौजसँग मिलेर। 

वर्षायाम असार-साउनमा देशभर विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले मानिसलाई विपद्‌मा पार्छन्। 

त्यतिबेला उद्धारका लागि अनुभव होस् भनेर सुरक्षा फौज अहिलेदेखि तयारीमा लाग्छन्। 

गत वर्षको मनसुनमा ठूलो मात्रामा जनधन क्षति भएपछि यस वर्ष न्यूनीकरणका लागि तयारी अलि बढाइएको गृह मन्त्रालयको भनाइ छ।

यस क्रममा गृहमन्त्री रमेश लेखक केही दिनदेखि ठाउँठाउँमा जारी विपद्‌विरुद्धका पूर्वतयारीको अनुगमनमा पुगिरहेका छन्।

सशस्त्र प्रहरीमा १० वर्ष पहिले नै भर्ना भएका सुरज र हरदेव पनि पछिल्ला वर्ष विपद्सम्बन्धी उद्धारमै तालिमप्राप्त थिए।

उनीहरूजस्तै गोताखोरको तालिम लिएका १ सय २८ जना सशस्त्र प्रहरी छन्।

तीमध्ये सुरुमा २५ जना बंगलादेशमा सिकेर फर्किए। त्यसपछि यहाँ आएर सिकाउन थाले। यसरी सशस्त्र प्रहरीमा दक्ष जनशक्ति बढ्दै गएको थियो। 

गोताखोरको तालिम गर्दा फेवाताल, त्रिशूली, सप्तकोसी र कुलेखानीमा अनिवार्य अभ्यास गराइन्छ। सप्तकोसीमा बेपत्ता उनीहरूले यहाँ पनि पहिल्यै अभ्यास गरिसकेका थिए। साथै सुरज उद्धारमा समेत खटिरहेका थिए। 

२०८१ भदौ ८ गते दिउँसो २ बजेतिर सर्लाहीको ईश्वरपुर नगरपालिका-५ सखुवनीका १७ वर्षीय निशान्त थापा मगर पौडी खेल्ने क्रममा डुबे। 

क्रसर उद्योगले गिट्टी-बालुवाका लागि खनेको खाडलमा जमेको पानीमा उनी डुबेको खबर सशस्त्र प्रहरीले पायो। 

खोजीमा खटिएका सुरजसहितका गोताखोरले खाडलभित्रबाट निशान्तको शव बाहिर निकाले। 

२०८१ भदौ २० गते धनुषाको औरही गाउँपालिका ५ र ६ को सीमामा रहेको नहरको बाँधमा ५ नम्बर वडाका १८ वर्षीय सुन्दर मण्डल पौडी खेल्ने क्रममा बेपत्ता भए। स्थानीयले खोजी गर्दा नभेटेपछि भोलिपल्ट सशस्त्र प्रहरीको गोताखोर झिकाइयो। त्यहाँ पनि सुरजसहितकै टोली खटियो। जुन टोलीले भदौ २१ दिउँसो साढे ४ बजेतिर जोगिहारामा शव फेला पारी निकाल्यो। 

यसरी अरूको उद्धारमा खटिरहेका सुरज यतिबेला आफैँ बेपत्ता छन्। 

उनको खोजीमा शुक्रबार दुइटा मोटरबोट, २ वटा र्‍याफ्ट बोट, सोनार क्यामरासहित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालको कमान्डमा १ सय ९ जनाको फौज खटियो। 

तर सुरज फेला परेनन्। 

आज शनिबार पनि खोजी जारी राखिएको सशस्त्रका सहप्रवक्ता थापाले बताए।

त्यसदिन अन्तिमपटक अभ्यास गर्छौँ भन्दै सप्तकोसीमा पसेका हरदेव र सुरजका लागि जीवनकै अन्तिम अभ्यास बन्न पुग्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad