समाज


यातायात व्यवसायीले आन्दोलन स्थगन गरेपछि चल्न थाले सार्वजनिक यातायात

यातायात व्यवसायीले आन्दोलन स्थगन गरेपछि चल्न थाले सार्वजनिक यातायात

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८२ बुधबार ५:४५, काठमाडौँ

यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनका कार्यक्रम स्थगन गरेपछि गएरातिदेखि नै सार्वजनिक यातायातका सञ्चालनमा आएका छन्।

संघीय सरकारको अनुरोधमा गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली स्थगित गरेसँगै व्यवसायीले पनि आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन्।

केन्द्र सरकारको आग्रहपछि गण्डकी प्रदेश सरकारले १ महिनाका लागि भन्दै राइड सेयर नियमावली स्थगित गरेको थियो। प्रदेश सरकारको निर्णयसँगै यातायात व्यवसायीले यातायात बन्द गर्ने कार्यक्रम स्थगन गर्दै तत्कालका लागि गाडी चलाउने निर्णय गरेका हुन्। 

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाली ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालको लागि यातायात बन्दको कार्यक्रम स्थगन गरेको जानकारी दिएका छन्। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले व्यवसायीको माग बमोजिम प्रदेश सरकारले नियमावली स्थगन गरेकाले आन्दोलनका कार्यक्रम पनि स्थगन गरेको बताए।

उनले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत यस सम्बन्धी थप विवरण सार्वजनिक गरिने बताएका छन्। 

यातायातलगायत २५ क्षेत्रमा आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा बन्द, हड्ताल गर्न नपाउने परमादेश माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइका लागि पेसी तोकिएको छ। 

उक्त रिटमा नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघका साथै भौतिक पूर्वाधार र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। सर्वसाधारणको मौलिक अधिकार हनन हुने गरी कानुन विपरीत यातायात क्षेत्रमा बन्द गरिएको रिटमा उल्लेख छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad