गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा पूर्वप्रधान सम्पादक विजय चालिसेको निधन भएको छ।
वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसे ७४ वर्षको उमेरमा शुक्रबार बितेका हुन्।
गोरखापत्रका अनुसार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।
उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष थिए भने २०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक भएका थिए।
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो।
बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामको पत्रकारिताको पुस्तक पनि लेखेका छन्।
गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गत वैशाख २४ गते उनलाई ५० हजार राशिको रामचन्द्र-इन्द्र पत्रकारिता पुरस्कार दिइएको थियो।
वरिष्ठ साहित्यकार रमेश विकलका छोरा विजय चालिसे बाल साहित्यमा सक्रिय थिए।
वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसेले थुप्रै कथा, उपन्यास र नाटक लेखेका छन्।
Shares

प्रतिक्रिया