मिर्गौला प्रत्यारोपण पश्चात सगरमाथाको सफल आरोहण गरेर फर्किएका आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यारोपणको एम्बास्डर बनाउने भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आरोही शेर्पाको सममानको लागि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले प्रत्यारोपणको एम्बास्डर बनिदिन आग्रह गरेका हुन्। उनले प्रत्यारोपण क्षेत्रमा स्वास्थ्य मन्त्रालयले एम्बास्डर बनाउने घोषणा गरे।
‘तपाईंले यस क्षेत्रमा एउटा ठूलो उदाहरण पेश गर्नुभएको छ। अब यो कुरा तपाईंले तपाईंसँग मात्र राखेर अर्थ छैन। तपाईंको सफल र उदाहरणीय इतिहास समाजलाई बताउनुपर्छ। तपाईं खास प्रत्यारोपणको एम्बास्डर हुनुपर्छ। यो प्रत्यारोपण क्षेत्रमा स्वास्थ्य मन्त्रालयले एम्बास्डर बनाउनेछ। अब भरियाहरूको स्वास्थ्य बीमा हुने व्यवस्था गर्नुपर्छ। त्यसमा पर्यटन मन्त्रालयलाई रोयल्टीमा भरियाहरूको बीमा शुल्क समेत जोडिदिनुस्,' उनले भने, 'हरेकलाई बीमामा आवद्ध गरिदिनुस्। त्यसो गर्न सम्भव छैन भने स्वास्थ्य मन्त्रालयले आधा, पर्यटन मन्त्रालयले आधा व्यहोरेर सबै पोर्टरहरूलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रवन्ध गरिनुपर्छ। सगरमाथा क्षेत्रमा असाध्यै फोहोर बढेको स्थिति रहेछ। प्रकृतिको अमूल्य उपहार दुषित हुनु हुँदैन, त्यसलाई जोगाउन हामी प्रयत्न गर्नेछौँ।’
कार्यक्रममा आरोही शेर्पाले रोगबारे थाहा नपाइकनै अन्तिम स्टेजमा पुगेपछि थाहा पाएको सुनाए। उनले जापानबाट नेपाल आइसकेपछि मात्रै आफू बचेको जिकिर गरे। नेपालमा आएर उपचार गर्दा धेरै नै खर्च भएको उनको भनाइ छ। उनले त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न खोज्दा समय नपाएर धेरै नै समस्या व्यहोरेको गुनासो गरे।तीन महिनाभित्र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरी अहिले स्वस्थ रहेको उनले बताए।
जलवायु परिवर्तनको असर सगरमाथामा विकराल रहेको उनको भनाइ छ। हिमालका हिउँ पग्लिएर कालो पत्थरमा रुपान्तरण भएको बताउँदै उनले १० वर्षसम्म यस्तै अवस्था भए हिमाल कालापत्थरमा परिणत हुने बताए।
Shares

प्रतिक्रिया