काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा अभियोग लगाइएका ११ जना मध्ये १० जना धरौटीमा रिहा भएका छन्। एक जना फरार छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले बुधबार उनीहरूलाई १० हजारदेखि ३५ हजारसम्म जनही धरौटीमा रिहा गर्न आदेश दिएको हो।
२०८१ चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो।
भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति पुर्याएको अभियोग छ।
तर यसमध्ये २ लाख ४३ हजार ७४ रुपैयाँका सामान बरामद गरिसकेकाले अभियोग लगाइएका ११ जनाबाट ७७ लाख ८९ हजार ३१ रुपैयाँ ५२ पैसा मात्र बिगो भराउन माग गरिएको छ।
उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा प्रतिवादी बनाएर छुट्टै अभियोग दायर गरिएको छ।
यो कसुरमा श्रवण कुमार लामा, समिर मगरलाई ७० हजार रुपैयाँका दरले धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ। रवि रञ्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेमकुमार महतोलाई ३५ हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ।
गोविन्दा राय, सुशीला कुमाल र राधेश्याम यादवलाई २० हजारका दरले तथा दिनेश महतो र एलिसा भन्ने लक्ष्मी राईलाई १० हजार रुपैयाँका दरले धरौटी माग गरिएको छ।
यही मुद्दाकी प्रतिवादी निर्मला कार्की फरार छिन्।
Shares

प्रतिक्रिया