उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक व्यक्ति छोरीको घरमा फेला परेका छन्।
चैत १२ गते अस्पतालको आइसोलेसनमा राखिएका उदयपुरको ताप्ली गाउँपालिका ४ ठानागाउँका ३९ वर्षीय कीर्तिमान नेपाली १४ गते भागेका थिए।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको हैदेमा छोरीको घरमा बसिरहेका नेपालीलाई आइतबार नगरपालिकाले फेला पारेको छ। उनीसँगै छोरीको घरका परिवार ८ जनालाई पनि दुर्छिम स्वास्थ्यचौकीको क्वारन्टिनमा राखिएको उपमेयर विमला राईले बताइन्।
उनी तीन दिनपहिले त्यहाँ आइपुगेको पाइएको नगरपालिकाले जनाएको छ।
भारतबाट आएका उनलाई ज्वरो देखिएपछि अस्पतालमा राखिएको थियो। तर उनी अस्पतालमा आफ्ना सबै सामान छाडेर भागेका थिए।
उनी भारतको सिलिगुडीबाट काँकडभिट्टा नाका हुँदै घर फर्किएका थिए। उनीसँगै २१ जना भारतबाट फर्किएका थिए।
प्रतिक्रिया