राजनीति


तीनकुने घटनाबारे रवीन्द्र मिश्र: म त अतिथि हुँ

तीनकुने घटनाबारे रवीन्द्र मिश्र: म त अतिथि हुँ

नेपालखबर
जेठ ११, २०८२ आइतबार १९:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।  

चैत १५ गते नै पक्राउ परेका मिश्रले प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा उनले उक्त हिंसात्मक प्रदर्शनको आयोजक दुर्गा प्रसाईं भएको र आफू अथिति भएर मात्रै गएको बताएका हुन्।  

'प्रतिवेदनमा उल्लिखित कुनै पनि आपराधिक कार्य मबाट भए गरेको छैन। सो कार्य गर्नको निमित्त मैले कोही कसैलाई प्रोत्साहन गर्ने, दुरुसाहित दिने र निर्देशन दिने समेतको कार्य गरेको छैन, थिएन,' उनले बयानमा भनेका छन्, 'संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होइन। संसद् भवनलगायतका संवेदनशील संरचनाहरू कब्जा गर्न भनी मैले कोही कसैलाई खटाएको छैन। अन्यले खटायो वा खटाएन सो सम्बन्धमा मलाई थाहा छैन।'

उनले एटीएफ, शिव सेना र पीडीएफसमेतको कार्यालय भवनमा खानतलासी गरी तयार गरिएका मुचुल्काहरू र बरामद भई आएका पर्चा, पम्प्लेट, झण्डा, टिसर्ट, पदीय हैसियत सहितको नामावली, निर्णय माइन्युटलगायतका विषयमा आफूलाई थाहा नभएको पनि दाबी गरेका छन्। उनले माइन्युटमा हस्ताक्षर पनि नभएको र निर्णयप्रक्रियामा आफू कतै संलग्न नभएको पनि बताएका छन्।  

उक्त दिन 'नेताको घर दैलोमा आगो लगाउने हो अब हामी यहाँ देउँसी भैलो खेल्ने हो जय राष्ट्रवाद' भनेर मञ्जबाट भाषण गर्ने व्यक्ति आफूले नचिन्ने पनि बयान दिएका छन्।  

उनले उक्त दिनको कार्यक्रमका लागि कसले कस्तो योजना बनायो थाहा नभएको पनि भनेका छन्।
  
'म सो कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन गएको विदित नै छ तर उक्त घटनाहरूको बारेमा मलाई पूर्व जानकारी थिएन। पछि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिई हाल मिसिल संलग्न कागजात र भिडिओहरू देखाइ पढी थाहा पाएको हुँ। मैंले उक्त मितिः र समयमा कोही कसैलाई विमानस्थलस्थित हवाई इन्धन डिपो, भन्सार कार्यालय तथा प्रहरी ब्यारेक समेतमा तोडफोड गर्न लगाएको अह्राएको छैन,' उनले भने। 

उनले उक्त कार्यक्रममा राप्रपाको ब्यानर चाहियो भन्ने भएपछि ब्यानर चाहिँ पठाएको बताए। आफूलाई स्टेज बनाएको विषयमा पनि आफूलाई थाहा नभएको उनको बयान छ।  

'जनआन्दोलन समितिकै कोही सो ब्यानर पुऱ्याउन तिनकुने गएको हुनुपर्छ। पार्टीका कतिपय अन्य नेतासँगै अनौपचारिक रुपमा गठन भएको संयुक्त जन आन्दोलन समितिमा म पनि संलग्न भएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको बयान' उनले बयानमा भनेका छन्।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad