नेपाली सेनाका उपरथी दीपककुमार बानियाँ अनिवार्य अवकाश हुने भएका छन्। २०८२ जेठ २३ गते उपरथीको पदावधि पूरा गरेर बानियाँ अनिवार्य अवकाश हुन लागेका हुन्।
प्रधानसेनापतिले चाहेको खण्डमा अझै दुई वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था भए पनि उनको पदावधि थप नहुने भएको हो। अवकाशको १५ दिन पहिले नै उनलाई बिदामा बस्न समेत भनिएको छ।
सैनिक सचिव ध्रुवकुमार कार्कीले सबै पृतना र मातहतलाई सम्बोधन गर्दै लेखेको पत्रमा बानियाँलाई म्याद थप नहुने जानकारी गराउँदै १५ दिन पहिले नै बिदा बस्ने व्यवस्था स्मरण गराइएको छ।
उपरथी बानियाँलाई कार्यरथी विभागको जिम्मेवारी सहायक रथीलाई हस्तान्तरण गर्न भनिएको छ। सैनिक संगठन निर्देशनालयका निर्देशक, सहायक रथी दिवसराज रेग्मीलाई कार्यरथी विभागको निमित्त जिम्मेवारी हस्तान्तरण गर्न पनि पत्रमा भनिएको छ।
२०७५ पुस ३ गतेको पीएसओज बैठकले रथीवृन्द अवकाश हुनुभन्दा १५ दिन पहिले अनिवार्य बिदामा बस्नु पर्ने निर्णय गरेको थियो।
पत्रमा उक्त बैठकको निर्णय पनि स्मरण गराइएको छ। जस अनुसार बानियाँ गत बिहीबारदेखि नै बिदामा छन्।
Shares

प्रतिक्रिया