ad ad

समाज


कैलालीकी संक्रमित महिला : जो ३ दिनमै क्वारेन्टिनबाट घर फर्किएकी थिइन्

कैलालीकी संक्रमित महिला : जो ३ दिनमै क्वारेन्टिनबाट घर फर्किएकी थिइन्

यज्ञराज जोशी
चैत २२, २०७६ शनिबार १३:५,

चैत १४ गते दुबईबाट आएर सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक युवामा कोरोना संक्रमण भएको पुष्टि भयो। चैत ७ गते दिल्ली हुँदै काठमाडौं आएका उनी ८ गते नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए।

तीन दिन घरमा बस्दा उनले परिवार, साथीभाइ तथा आफन्तलाई भेटेका थिए। चैत ११ गते स्वास्थ्यमा समस्या भएपछि उनी सेती प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले कोरोनाको आशंकामा स्वाव परीक्षणपछि १४ गते आएको रिपोर्टमा उनी कोरोना संक्रमित भएको देखियो।

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार कुनै व्यक्ति संक्रमित भेटिए उनको नजिकका व्यक्तलाई तत्काल खोजी गर्ने , अलग्गै राखेर संक्रमित भए, नभएको परीक्षण गर्नुपर्ने हुन्छ। सम्पर्कमा आएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिन्छ भने सोही अवधिमा उनीहरुको पनि लक्षणका आधारमा कोरोना परीक्षण गरिन्छ।

तर, यी संक्रमित युवाका परिवारलाई भने तीन दिनमात्रै धनगढीको रंगशालामा बनाइएको क्वारेन्टिनमा राखिएको थियो भने ५ दिनपछि बल्ल स्वाव परीक्षण गरिएको थियो। युवकलाई संक्रमण पुष्टि भएको अर्को दिन(चैत १५) दिन धनगढी रंगशालामा बनाइएको क्वारेन्टिनमा ल्याइएका परिवारका ८ सदस्यलाई ३ दिनपछि घर पठाइएको थियो।

यस प्रदेशमा कोरोना परीक्षणको डेडिकेटेड अस्पतालका रुपमा छुट्टाइएको सेती प्रादेशिक अस्पतालका प्रवक्तासमेत रहेका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले भने आफूहरुले परिवारलाई डिस्चार्ज नगरेको तर घरमै कडा पूर्वक क्वारेन्टिनमा बस्छौं भनेपछि पठाइएको बताए।

‘बाहिर बसे पनि क्वारेन्टिन हो, घरमा बसे पनि क्वारेन्टिन हो,’ उनले भने, ‘उहाँहरु कडा रुपमा घरमै बस्छौँ भनेर जानुभएको हो। हामीले डिस्चार्ज गरेर पठाएका हैनौं।’

स्वाब संकलन पनि नगरेर घर पठाइएको भन्दै व्यापक आलोचना भएपछि घर पठाइएको अर्को दिन (चैत १९) गते मात्रै अस्पतालले परिवारका सदस्यको स्वाब संकलन गरेको थियो। उनले रंगशालाको क्वारेन्टिनमा बसेको अवधिमा कुनै लक्षण नदेखिएकाले स्वाब परीक्षण नगरिएको बताए।

‘लक्षण देखियो भने स्वाब संकलन गर्ने हो। क्वारेन्टिनमा बसेको अवधिमा जतिखेर पनि लक्षण देखियो भने गर्न सकिन्छ,’ उनले भने, ‘उहाँहरुको स्वाब परीक्षण गर्ने भन्ने आएपछि स्वाब संकलन गरिँदा एक जनामा पोजिटिभ देखिएको हो।’

ती युवकलाई कोरोना पुष्टि भएको ८ दिनपछि शनिबार उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको हो। यो नेपालभित्रै एक जनाले अर्को जनामा सारेको पहिलो केस हो।

अस्पतालले बिहानै ती महिलामा कोरोना संक्रमण भएको जानकारी पाए पनि दिउँसोमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खबर बाहिर ल्याएको हो। अस्पतालले बिहानै खबर पाएसँगै ती महिलालाई एम्बुलेन्समार्फत अस्पताल ल्याएको थियो।

‘हाल उनको अवस्था सामान्य छ। हामीले आवश्यक उपचार गरिरहेका छौं,’ डा. जोशीले भने।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले धनगढीमा परिवारभित्रै एकबाट अर्कालाई सरेपछि पहिलो पटक स्थानीय संक्रमण भेटिएको र नेपाल कोरोना संक्रमणको देस्रो चरणमा प्रवेश गरेको बताए।

यसअघि संक्रमण देखिएका सबैजना विदेशबाट आएका थिए। यो नै नेपालभित्रै रहेकामा देखिएको पहिलो कोरोना संक्रमण हो।

‘धनगढीमा भेटिएका संक्रमितकी भाउजूलाई पनि संक्रमण भएको भेटिएको छ।’, डा. कार्कीले नेपालखबरसँग कुरा गर्दै भने, ‘यो पहिलो स्थानीय संक्रमण भएको हो, यो सँगै हामी दोस्रो चरणको संक्रमणमा प्रवेश गर्यौं।’

उनले पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएसँगै थप सतर्क बन्नुपर्ने अवस्था आएको बताए। शनिबार देखिएका तीनसँगै कैलाली र कञ्चनपुरमा मात्रै चार जनालाई कोरोनाको संक्रमण भेटिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .