सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको आइतबार अनुगमन गरेका छन्।
अनुगमनका क्रममा सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न उनले मातहतका निकायलाई निर्देशन दिएका छन्।
उक्त जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन्।
उनले सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारीरूपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिए। साथै उनले सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिए।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्न निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘असल मनसायकासाथ गरिएको कामकारवाहीमा भएको कमीमजोरीको जिम्मा संगठनले लिनेछ।’
सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरुको सहजताका लागि समेत काम गर्नुपर्ने उनको भनाइ छ।
यस्तै सीमामा हुने अव्ध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उनले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिए।
वर्षातको समयलाई मध्यनजर गर्दै बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुन सक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहनसमेत महानिरीक्षक पौडेलले निर्देशन दिए।
Shares

प्रतिक्रिया