समाज


काठमाडौँका स्कुलहरूलाई रीतपूर्वक प्रधानाध्यापक नियुक्त गर्न महानगरले दियो १५ दिनको म्याद

८१ मध्ये ११ स्कुलमा मात्र रीतअनुसार प्रअ नियुक्त
काठमाडौँका स्कुलहरूलाई रीतपूर्वक प्रधानाध्यापक नियुक्त गर्न महानगरले दियो १५ दिनको म्याद

नेपालखबर
जेठ ५, २०८२ सोमबार २०:५९,

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा व्यवस्थापन समितिले स्थायी शिक्षक बाहेकका शिक्षक तथा विद्यालय सञ्चालन भएको तहभन्दा तल्लो तहको दरबन्दीमा कार्यरत शिक्षकलाई निमित्त प्रधानाध्यापक तोकेको पाइएकोले प्रचलित नियमअनुसार निमित्त प्रधानाध्यापक तोकेर पठाउन १५ दिनको म्याद दिएको छ। 

कामनपाका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन, ‘८१ वटा सामुदायिक विद्यालयहरुमध्ये ११ वटा विद्यालयमा मात्र संघीय शिक्षा ऐनअनुसार रीतपूर्वक प्रधानाध्यापक नियुक्ति गरिएको पाइएको छ।’ 

शर्माका अनुसार महानगरपालिकामा कुल ८७ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये ३ वटा विशेष विद्यालय छन्। तीनवटा चाहिँ कारागारमा सञ्चालित छन्।  

शिक्षा नियमावली २०५९ मा सामुदायिक विद्यालयमा प्रधानाध्यापक पद रिक्त भएमा विद्यालय व्यवस्थापन समितिले विद्यालय विकास प्रस्ताव सहित दरखास्त आह्वान गर्नुपर्छ। स्थायी शिक्षक मात्र प्रधानाध्यापकका लागि उम्मेदवार हुन सक्ने व्यवस्था छ। दरखास्त दिएका शिक्षकहरुको  छनोट समितिबाट मूल्यांकन गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई व्यवस्थापन समितिले प्रधानाध्यापकको पदमा नियुक्ति गर्ने व्यवस्था छ।

यस्तै प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यररत शिक्षकहरुमध्ये वरिष्ठतम् स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्ने व्यवस्था नियमावलीमा छ। तर कुनै विद्यालयमा एकभन्दा बढी तह भएमा माथिल्लो तहको वरिष्ठतम् शिक्षकले निमित्त भई काम गर्नेछ भन्ने व्यवस्था नियमवालीमा उल्लेख छ। 

शिक्षा नियमावलीमा भएका यी व्यवस्थाविपरीत निमित्त प्रधानाध्यापक तोकिएपछि संघीय शिक्षा ऐनअनुसार कामनपाले प्रअ व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। कानमपाका अनुसार केही विद्यालयमा राहत दरबन्दीका शिक्षकलाई निमित्त प्रअ तोकिएको छ। कतिपय विद्यालयका वरिष्ठ शिक्षकहरुले आफूभन्दा कनिष्ठ र तल्लो तहका शिक्षकलाई प्रअ बनाइएपछि महानगरपालिकामा मौखिक रुपमा उजुरी समेत गरेका छन्।  

यसअघि पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीमा तत्कालीन प्रअ गत वर्ष असारमा सेवानिवृत्त भएपछि व्यवस्थापन समितिले प्राथमिक तहका शिक्षकलाई निमित्त प्रअ दिएको थियो। 

त्यसपछि काठमाडौ महानगरपालिकाले पञ्चकन्या माविको खाता रोक्का गरेको थियो। र, माध्यमिक तहको दरबन्दीसँगै शिक्षक पठाएर त्यहाँ प्रधानाध्यपाक नियुक्ति गरिएको थियो।

यस्तै जनकल्याण माध्यमिक विद्यालयमा माध्यमिक तहकी शिक्षक निमित्त प्रअ तोकिएकी थिइन्। सुरुमा सहमति भएको बताइए पनि पछि उनीभन्दा वरिष्ठ शिक्षक दीपक श्रेष्ठले असहमति जनाएका थिए। हाल प्रअ श्रेष्ठ निमित्त प्रअ छन्। 

काठमाडौँ महानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि २०८० बनाएको थियो। यसअनुसार २०८० साल, कात्तिकमा सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्तिका लागि दरखास्त आह्वान समेत गरेको थियो। 

महानगरपालिका कतिपय सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुले यसको चर्को विरोध गरेका थिए। कार्यविधिविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्त गर्ने बाटो रोकिएको थियो। 

अब महानगरपालिकाले संघीय शिक्षा ऐनअनुसार प्रअ नियुक्ति गर्न जेठ १ गते पत्र पठाएपछि व्यवस्थापन समितिहरुमाथि नैतिक दबाब परेको छ। उनीहरु संघीय शिक्षा ऐनअनुसार प्रअ नियुक्ति गर्छन् कि गर्दैनन् वा निमित्त प्रअ तोक्छन् कि तोक्दैनन्, चासोका साथ हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad