शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको प्रकोपका बेला मास्क नलगाउने धारणा राखेको केहीबेरमै उनका श्रीमती मलेनिया ट्रम्पले ट्वीटमा अमेरिकी नागरिक सबैलाई मास्क लगाउन आग्रह गरेकी हुन्।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हालै बाटोमा हिँड्दा सबैले कपडाको मास्क प्रयोग गर्नुपर्ने बताएको छ। केन्द्रले मेडिकल अथवा सर्जिकल मास्क नै लगाउनपर्छ भनेर सुझाव दिएको छैन।
यसबीचमा केन्द्रले मास्क लगाउनु पर्छ भनेर सुझाव मात्र दिएको र त्यो बाध्यकारी नभएकाले आफूले मास्क नलगाउने ट्रम्पले बताएका थिए।
ट्रम्पले भनेका थिए,‘म मास्क लगाउन चाहन्न। म यतिकै राम्रो महशुस गरिरहेको छु।’ यद्यपी ट्रम्पले आफ्नो मनस्थिती परिवर्तन गर्नसक्ने पनि बताएका थिए।
— Melania Trump (@FLOTUS) April 3, 2020As the weekend approaches I ask that everyone take social distancing & wearing a mask/face covering seriously. #COVID19 is a virus that can spread to anyone - we can stop this together.
ट्रम्पले अभिव्यक्ति दिएको केहीबेरमै मलेनिया ट्रम्पले भने ट्वीटमा भनेकी थिइन्,‘म सबैलाई शारीरिक दुरीको नियम पालना गर्न र मास्क लगाउन अनुरोध गर्दछु। कोरोना भाइरस जोकोहीमा पनि सर्नसक्छ। हामीले चाह्यौ भने सँगै भाइरस रोक्न सक्छौं।’
अमेरिका हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। । अमेरिकामा २ लाख ७७ हजार ५२२ संक्रमित छन्। त्यहाँ ७ हजार ४०३ को मृत्यु भइसकेको छ।
विश्वभर भने कोरोना भाइरस ‘कोभिड १९’ का कारण ५९ हजार २३६ जनाको मृत्यु भइसकेको छ।
शनिबारसम्मको तथ्यांकअनुसार हालसम्म ११ लाख १८ हजार ८४४ कोरोना संक्रमित पुष्टि भएका छन्। यसबीचमा २ लाख २९ हजार २८६ उपचारपछि स्वस्थ पनि भएका छन्। एजेन्सी

प्रतिक्रिया