सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता हरिशदेव गौतमको नेतृत्वमा बर्दियाबाट काठमाडौँमा आइ ज्याला मजदुरी गर्ने श्रमिकलाई राहत वितरण गरिएको छ।
गौतमको नेतृत्वमा काठमाडौँका कपन, महाराजगन्ज र ठमेल आसपास बस्ने बर्दियाका करिव एक सय मजदुरलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो।
सो टोलीले तीन एक परिवारलाई २० केजी चामल, पाँच केजी आलु, खाने तेल एक लिटर, मसला, नुन लगायतका सामग्री वितरण गरेको हो।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु समस्यामा परेका थिए। मजदुरु समस्यामा परेको खबर पाएपछि आफूहरुले उनीहरुलाई केही सहयोग पुगोस भनेर सो राहत वितरण गरेको गौतमले बताए।

गौतम नेकपा उपाध्यक्ष बामदेव गौतमका छोरा हुन्। उनी नेकपा बर्दिया जिल्ला कमिटी सदस्य समेत हुन्।
राहत सामग्री पाएपछि मजदुरको समूहले गौतम नेतृत्वको टोलीलाई धन्यवाद दिएको थियो।
‘मजदुरी गरेको पैसा सकिएपछि भोकभोकै हुने अवस्थामा थियौँ। यस्तो बेला राहत पाउँदा खुसी लागेको छ’, मजदुरको भनाइ उदृत गर्दै राहत वितरणमा सहभागी राष्ट्रिय युवा संगठनका केन्द्रीय सदस्य शिव रिमालले नेपालखबरलाई भने।
राहत वितरणमा गौतम र रिमालका साथमा युवा संगठनका महेन्द्र विष्ट, प्रवेश महत र टीकाराम जैसीको सहभागी थिए।

प्रतिक्रिया