काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शुक्रबार साँझ र गएराति हावाहुरीसहितको वर्षा भएको छ। हावाहुरीका कारण जनजीवन प्रभावितसमेत भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला हावाहुरीबाट बढी प्रभावित भएको बताए।
उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ। शुक्रबार साँझको हावाहुरीको कारण दुई जनाको मृत्यु भएको र सात जना घाइते भएका जानकारी प्राप्त भएको पनि उनले बताए।
नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका छन्। सर्लाही, चितवन लगायतका जिल्लामा पनि हावाहुरीले क्षति गरेको छ।
आज (शनिबार) पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहने मौसमविद्को अनुमान छ।
उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन्।
प्राप्त विवरणअनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङमा ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ।
काठमाडौँमा शनिबार अपरान्हतिर शुक्रबारकै जस्तो बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन्।
Shares

प्रतिक्रिया