समाज


ट्राफिक प्रहरी प्रवक्तासँग ‘तत्कालै’: इन्सपेक्टरले जवानलाई थप्पड हाने, तालिममा यस्तै सिकाइन्छ? (भिडिओ)


अनिल यादव
जेठ २ , काठमाडौँ

थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक इन्सपेक्टरले थानकोट वृत्तका एक प्रहरी जवानलाई कुटेको भिडिओ यतिखेर भाइरल भइरहेको छ। भिडिओ सार्वजनिक भएलगत्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक विज्ञप्ति निकाल्दै दुवैलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको बताएको छ। 

नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो। काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइ खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले यो घटना बुधबार बिहानको भएको र यसको छानबिन सुरु भइसकेको बताएका छन्। 

नेपालखबर ‘तत्कालै’मा प्रवक्ता गिरीलाई सवाल– पब्लिकलाई प्रहरीले पिटिरहेको भिडिओ सबैले देखिरहेका थिए। हुँदाहुँदा प्रहरीले प्रहरीलाई पिट्न थालेछन् है?

जवाफमा उनले भने, ‘घटना, दुर्घटनाहरू हुन्छन् र त नियमकानुन र प्रहरी नियमावली बनेका हुन्। कमीकमजोरी केही भएको छ। अब छानबिन कमिटीले कसको के दोष देख्छ, त्यसअनुसार कारबाही हुन्छ। कतिपय कुरा भिडिओमा देखिएकै छ, हामीलाई पनि जानकारी छ। के कारण हो, किन हो, त्यो छानबिनपछि प्रष्ट हुन्छ।’

छानबिन कमिटीको प्रतिवेदन नआइकन अनुमानका भरमा अहिले बोल्न नमिल्ने बताए। 

यो भिडिओ सार्वजनिक भएपछि अहिले सर्वसाधारणले ठूलो पदका इन्सपेक्टरलाई सेटिङमा छाड्ने तर जवानलाई फसाउने आशंका गरिरहेका छन्। सर्वसाधारणको यही आशंकाबारे हामीले जिज्ञासा राख्दा उनले छानबिन निष्पक्ष हुने बताए। 

‘छानबिन कमिटीमा बसेको अफिसरले सबै पक्षलाई बुझेर सोधेर निर्क्यौल निकाल्छ। त्यसलाई विश्वास गर्नुपर्‍यो। पक्षपातपूर्ण व्यवहार हुँदैन,’ उनले भने। 

यसअघि गत वैशाख १२ गते सुन्धारामा दिनदहाडै तीनजना ट्राफिक प्रहरी मिलेर एक सवारी चालकलाई कुटेको भिडिओ भाइरल भएको थियो। हामीले गिरीलाई सोध्यौँ– ‘यस्ता घटनाहरू किन पटकपटक दोहोरिरहेका छन्? प्रहरीले किन अनुशासन उल्लंघन गरिरहेको छ? तालिममा यस्तै सिकाइन्छ हो?’

जवाफमा उनले के भने? हेर्नुहोस् नेपालखबर ‘तत्कालै’:


फोटो/भिडिओः विशाल कार्की/सौगात दाहाल

जेठ १, २०८२ बिहिबार २१:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad