समाज


विदेशबाट फर्किएका १७७ जना क्वारेन्टिन बाहिरै

विदेशबाट फर्किएका १७७ जना क्वारेन्टिन बाहिरै

नबीनबाबु अधिकारी
चैत २१, २०७६ शुक्रबार १०:३८,

सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन्। विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन्। स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालसम्म विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आउने व्यक्तिको विवरण संकलन कार्य जारी रहेको छ। विदेशबाट आएका व्यक्तिमाथि निगरानी बढाएको र उच्च ज्वरो र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई तत्कालै उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने र ती व्यक्तिको स्वाव परीक्षण गरिने व्यवस्था मिलाइएको उनको भनाइ छ।

विदेशबाट घर फर्किएकामध्ये ८५ जना भारतबाट आएका छन्। भारतबाट घर फर्किएकामध्ये कमलामाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा २१, गोलन्जोर गाउँपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, हरिहरपुरगढी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ६ र मरिण गाउँपालिकामा १४ जना रहेका छन्। त्यस्तै तेस्रो मुलुकबाट घर फर्किएकाहरुमा कमलामाई नगरपालिकामा ८, दुधौली नगरपालिकामा १८, गोलन्जोर गाउँपालिकामा ३, तिनपाटन गाउँपालिकामा ६, घ्याङलेख गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २५, सुनकोसी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा १४ गरी कूल ९१ जना छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवै पालिकालाई पत्राचार गर्दै विदेशबाट आएकाको विवरण संकलन गर्न आग्रह गरेको थियो। स्थानीय तहले दैनिक रुपमा अहिले पनि विवरण संकलन भै रहेको जनाएको सूचना अधिकारी न्यौपानेले बताए। हालसम्म सम्पर्कमा आएका १७७ मध्ये चैत ११ गते यता भारतबाट २ जना मात्र आएका छन्। बाँकी उक्त मितिभन्दा अगाडि नै आएको पाइएको उनले बताए।

उनले विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिको सम्पर्कमा रहन आग्रह गरे। विदेशबाट आएर होम क्वारेन्टिनमा बसिरहेको भएपनि त्यस्ता सूचना स्थानीय तह तथा जनप्रतिनिधिलाई दिन उनको आग्रह छ।

यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास दिने कार्य बन्द गराएको छ। कोभिड–१९ को संक्रमण हुनबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागू गराउन सवारी पास बन्द गरेको सूचना अधिकारी न्यौपानेले जनाएको छ। उनका अनुसार, बिहीवार दिउँसो १२ बजेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सवै सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो।

२०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष

सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टिन निर्माण गरिएको छ। हालसम्म सिन्धुलीमा एक व्यक्तिलाई पनि क्वारेन्टिनमा राखिएको छैन।

यस्तै, कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad