समाज


बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा ५ महिना अस्पताल बसेर रिहा हुँदै

बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा ५ महिना अस्पताल बसेर रिहा हुँदै

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ११:३९, काठमाडौँ

बलात्कारको अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी रिहा हुने भएका छन्। 

जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरको इलाम इजलासले आदेश दिएको हो। 

बिहीबार न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले २० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। उच्चको आदेश अनुसार शिवाकोटीले धरौटी बुझाइनसकेकाले रिहाइ भने भइसकेका छैनन्। 

तर उनी हाल कारागारमा पनि छैनन्। २०८१ मंसिर २४ गते पक्राउ परेका शिवाकोटी एक दिन पनि हिरासत र कारागार नबसी रिहा हुन लागेका हुन्। 

कारागार कार्यालय झापाका प्रमुख (जेलर) रेवत्न भट्टराईले शिवाकोटी विर्तामोडको बीएण्डसी अस्पतालमै रहेको बताए। 

‘उच्च अदालतबाट धरौटी खुल्यो रे भन्ने सुनेको हो, तर आधिकारीक पत्र आइसकेको छैन। धरौटी बुझाइसकेपछि अदालतबाट छाड्नु भनेर पत्रआयो भने हामीले छाड्ने हो,’ भट्टराईले नेपालखबरसँग भने। 

यसअघि प्रहरीले पक्राउ गरेपछि पनि उनलाई हिरासतमा नराखी अस्पतालमै राखेर अनुसन्धान गरेको थियो। शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट विर्तामोडको मेयरमा निर्वाचित भएका थिए।

उनले आफ्नै घरमा कार्यरत १७ वर्षकी नाबालिगलाई जवर्जस्ती करणी गरेको अभियोग छ। शिवाकोटीको घरमा काम गर्दै कलजे पढ्दै गरेकी बालिका शिवाकोटीले जवर्जस्ती करणी गरेको भन्दै भागेर भारत फर्किन लाग्दा काँकडभिट्टा नाकाबाट एउटा संस्थाले उद्धार गरेको थियो। 

त्यसक्रममा सोधखोज गर्दा उनले जबर्जस्ती करणीको कुरा खुलाएकी थिइन्। त्यसपछि किशोरीलाई विर्तामोड प्रहरीको जिम्मा लगाएपछिट प्रहरीले शिवाकोटीलाई कार्यालयमै बोलाएर नियन्त्रणमा लिएको थियो। 

प्रहरीले झिकाएपछि हाल भारतमा रहेकी उनकी आमा नेपाल आएर जाहेरी दिएकी थिइन्। जाहेरीपछि अनुसन्धान सकेर पुसमा अदालतमा मुद्दा दायर भएको थियो। 

जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर उनी स्वास्थ्यको काराण देखाउँदै अस्पतालमै बसेका थिए।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad