समाज


सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा सात जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा सात जना पक्राउ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १९:३, काठमाडौँ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साह रहेका छन्।

इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकपडाहरू लगायतका सरसामानहरू सस्तोमा दिने भनि विश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले हाल सम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको, सामाजिक सञ्जालमा पोष्ट गरिएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनि रकम पठाउन लगाउने गरेको, सर्वसाधारण नागरिकको नाममा बैंक, वित्तिय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्यमबाट रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

साथै उनीहरूको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तिय संस्था तथा वालेट आईडि समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरू उपर ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad