समाज


चट्याङ लागेर धादिङ र रुकुममा दुई जनाको मृत्यु, ११ घाइते

चट्याङ लागेर धादिङ र रुकुममा दुई जनाको मृत्यु, ११ घाइते

नेपालखबर
चैत २०, २०७६ बिहिबार ३:७,

बुधबार साँझतिर परेको चट्याङ लागेर धादिङ र रुकुममा दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

उत्तरी धादिङको खनियाबास गाउँपालिका-२ गोरगङमा चट्याङ गर्दा स्थानीय ४० वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीनजना घइते भएका छन्।

घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

चट्याङ लागेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्। चट्याङले दुई घरमा क्षति पुगेको छ।

चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए।

त्यसैगरी खनियाबास गाउँपालिका-२ क्यूङ निवासी आसमाया तामाङ पनि चट्याङ लागेर घाइते भएकी छन्। सबै घाइतेको गाउँमै रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

त्यसैगरी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको छ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

बुधबार साँझ साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको हो। चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक गम्भीर घाइते भएकी छन्।

त्यसैगरी वडा नम्बर ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का, ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का चट्याङ लागेर घाइते भएका छन्।

घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad