समाज


कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८२ आइतबार ६:१, काठमाडौँ

कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सञ्चालन हुँदै छ। बिहान ८ बजेदेखि ११ जबेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्। 

बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। 

देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। 

यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ। 

यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार एक सय ३३ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। 

परीक्षा सञ्चालनको लागि मनाङ र मुस्ताङमा १र१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा धेरै विद्यार्थीले परीक्षा दिने काठमाडौँ जिल्लामा भने एक सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।

यस वर्ष कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी कक्ष १२ को परीक्षामा सहभागी हुँदैछन्। 

त्यसैगरि कोसी प्रदेशबाट ८२ हजार ८ सय ७१, मधेसबाट ६९ हजार ८ सय ८, गण्डकीबाट ४३ हजार ३ सय ४९, लुम्बिनीबाट ९० हजार ६ सय ७८ र सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्ने बोर्डले जनाएको छ। 

बोर्डले यही वैशाख ११ देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको हो। 

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ। 

कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन्।

बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोवाइल फोन, स्मार्ट घडी लगायत अन्य कुनै पनि प्रकारका इलेक्ट्रोनिक्स डिभाइस लैजान रोक लागाइएको जनाएको छ। 

यदि कसैले परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरु जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण विषयको परीक्षा पनि रद्द हुने चेतावनीसमेत बोर्डले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad