नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ। तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन्।
उनीसँग न कुनै कागजात छ न त कोही सहारा नै। आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित भएका हुन्।
‘मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन’, भुजेलले भने। विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए। उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका हुन्।
विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दै आएका छन् । उनलाई न आमाबुबा न घरको बारेमा जानकारी छ।
होटलमा काम गर्नुअघि उनको नाम चङ्खे थियो। अहिले उनी अर्जुन भुजेलको नामबाट चिनिन थालेका छन्। भुजेल एक वर्षदेखि काम गरिरहेका छन्।
‘आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ’, उनले भने। उनले नागरिकता बनाउन पहल गरिदिन आग्रह गरे। रासस
Shares

प्रतिक्रिया