नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारले पहिलो चरणको तीनमहिने चिनियाँ भाषाको तालिम सकाएका छन्।
तालिममा सहभागी ३८ जना पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको छ।
काठमाडौँ विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युट र नेपाल–चाइना मिडिया फोरमको संयुक्त आयोजनामा गत पुस २ देखि चैत १८ गतेसम्म चिनियाँ भाषा पढाइएको थियो।
सहभागी पत्रकारलाई फोरमका अध्यक्ष किशोर श्रेष्ठ र इन्स्टिच्युटका निर्देशक प्राडा स्वाङ छेङले संयुक्त रुपमा प्रमाणपत्र वितरण गरेका हुन्। बुधबार काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको हलमा सो कार्यक्रम भएको हो।
पत्रकारलाई प्राडा जोन श्रेष्ठ (ता लोङ) र अध्यापिका चाङ खोङ वेले चिनियाँ भाषा पढाएकी थिइन्। चिनियाँ वर्णमाला, दैनिक व्यावहारिक विषयसम्बन्धी कोर्स पढाई भएको थियो।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं फोरमका अध्यक्ष श्रेष्ठले नेपाल र चीनका पत्रकारबीच सूचना आदादप्रदानका लागि भाषा जान्नुपर्ने आवश्यकता बोध गरेर कक्षा सञ्चालन गरिएको बताए।
‘पहिलो चरणको कक्षा सञ्चालन गर्न सफल भयौँ, पत्रकार साथीहरूले उत्साह र रूचिपूर्वक पढ्नुभएको पाएको छु, उनले भने, ‘अब दोस्रो चरणको विशेष कक्षा केही दिनमै सुरू हुन्छ।’
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विकास गर्न चिनियाँ भाषा जान्न आवश्यक रहेको उनको भनाई थियो।
‘चिनियाँ भाषा बोल्न सक्षम बनाउने हाम्रो लक्ष्य छ, कहाँ जानुपर्छ, कसलाई भन्नुपर्छ, स्रोत कसरी व्यवस्थापन गर्नुपर्छ? त्यो हाम्रो काम भयो, अब दोस्रो चरणको कक्षा अघि बढ्छ, यसपटक भाषामात्र होइन, पाककला , स्वास्थ्यसँग सम्बन्धित विषय पनि पढाइन्छ,’ समापन कार्यक्रममा उनले भने।
कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्राडा लिले पनि चीन र चिनियाँलाई नजिकबाट बुझ्न भाषा जान्नैपर्ने बताए।
नेपाली पत्रकारका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाई थियो।
इन्स्टिच्युटका प्रा।छिउ क्वाङ्मिनले चिनियाँ भाषा सिकाईले दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए। प्रशिक्षार्थीका तर्फबाट पत्रकार अमृतनाथ तिमिल्सिनाले चीनबारेको पहिलो सूचना पाउन चिनियाँ भाषा जान्न आवश्यक रहेको बताए।
‘पहिलो चरणको कक्षा एकदमै प्रभावकारी, लाभदायक र अर्थपूर्ण भयो,’उनले भने।
समापन कार्यक्रममा नेपाली सञ्चारकर्मी सजना तिमिल्सिना, मनुका कुँवर र विद्या भट्टटराईले चिनियाँ र नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए।
Shares

प्रतिक्रिया