मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए।
बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो।
‘हाम्राबीचमा सहमति भएलगत्तै क्याबिनेट बैठक बसेको थियो। हामीले प्रधानमन्त्रीज्यूलाई यस्तो सहमति भएको छ भनेर सुनायौँ’ मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै शिक्षामन्त्री पन्तले भने, ‘प्रधानमन्त्रीले ठीक छ, तपाईंहरू अगाडि बढ्नुहोस् भन्नुभयो।’
पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकसहित नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत शिक्षक नेताहरू सहभागी थिए।
गएको चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार लगातार तेस्रो दिन वार्ता भएको थियो।
वार्तामा महासंघले राखेको नौ बुँदे मागप्रति सरकारी वार्ता टोली सहमत भएपछि अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिएको थियो।
केके भयो सहमति?
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२) अस्थायी प्रकृतिका शिक्षक राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम
व्यवस्था गर्ने।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।
Shares

प्रतिक्रिया