समाज


शिक्षक-प्रहरी झडपमा घाइते पत्रकार कार्की भन्छिन्- पानीको फोहोरा अनुहारमै लागेपछि ढलेँ

शिक्षक-प्रहरी झडपमा घाइते पत्रकार कार्की भन्छिन्- पानीको फोहोरा अनुहारमै लागेपछि ढलेँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १४, २०८२ आइतबार १९:२४, काठमाडौँ

आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो।

प्रहरीले भिडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। सोही समयमा समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन्।

उनलाई निजामती कर्मचारी अस्पतालमा लैजाने काम प्रहरीले गरेको थियो। अत्यधिक चोट देखिएपछि त्यहाँबाट ट्रमा सेन्टर लगियो। ट्रमा सेन्टरबाट तिलगंगा लगिएको छ।

चोटको कारणले कार्कीको दुवै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। घाइते कार्कीले समाचार संकलनको क्रममा पानीको फोहोराले एक्कासि अनुहारमा लागेको बताएकी छन्।

उनले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल लगेको बताइन्। उनले बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिलेको बताइन्।

उनले भनिन्, ‘पानीको फोहोरा एक्कासि आयो। म छेउतिरै थिएँ। एक्कासि अनुहारमा लाग्यो। म ढलेँ। एक जना शिक्षिका आएर प्रहरीलाई खबर गरिदिनुभयो। त्यसपछि अस्पताल लैजानुभयो। दाहिने आँखाले देख्दै देख्दैनँ। देब्रे आँखाले हेर्न मिल्छ। दाहिने आँखा खोल्नै मिल्दैन।’

उपचारमा संलग्न डा सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो। चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले बताए। 

घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो।

पत्रकार महासङ्घले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ। महासङ्घले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad