वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा आज (शनिबार) बिहान करिब ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
घिउको आगो भएकाले पूरा नियन्त्रणमा लिन अझै ३/४ घण्टा लाग्ने पर्सा प्रहरी कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले बिहान साढे १० बजे जानकारी दिए।
‘घिउमा लागेको आगो पानीले पनि निभ्दोरहेनछ,’ एसपी राठौरले नेपालखबरसँग भने, ‘फम (आगो निभाउन प्रयोग गरिने विशेष प्रकारको रसायन) हालेर आगो निभाउने प्रयास भइरहेको छ।’
फम पनि पर्याप्त नहुँदा आगो निभाउन कठिनाइ भइरहेको उनले बताए। आगो निभाउन वीरगन्ज महानरपालिकाका दमकल, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगन्जका दमकल प्रयोग भइरहेका छन् भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीयबासी खटिइरहेका छन्।
‘घिउ नसकिएसम्म आगो निभ्दैन,’ एसपी राठौरले भने।
बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। आगलागीबाट करिब ८ हजार लिटर घिउ नष्ट भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया