डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप दुई लाख सहयोग गरेको छ।
नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षतिमा पीडितलाई आर्थिक सहयोग गर्दै आएको छ।
राहत रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए। गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उहाँलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले बताए।
वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए दुई लाख र मृत्यु नै भए १० लाखसम्म राहतबापत आर्थिक सहयोग गर्ने व्यवस्था छ।
श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ।

प्रतिक्रिया