काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत वेवास्ता गरेपछि जरिवानाको पत्र पठाएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।
काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ।
‘यस वर्ष मात्रै पनि एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन ६ पटकभन्दा धेरै भइसक्यो यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापर्वाही देखिए फोहर ढुवानीमा रोक लगाउने गरिएको थियो,’ वातावरण व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्छिन्, ‘अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरियो। गएको असोज (२०८१) ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीहरुलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो।’
त्यसअघि अस्पतालले विभिन्न संस्थाहरुको नाम लिएर व्यवस्थापनको जिम्मेवारी दिएको बताउँदै आएका थियो। महानगरपालिकाले भने हानीकारक फोहर व्यवस्थापनको दायित्व अरुलाई दिन नमिल्ने, हानीकारक फोहरलाई आफैँ निर्मलीकरणको प्रबन्ध गर्नुपर्छ भन्दै आएको थियो।
Shares

प्रतिक्रिया