समाज


सहकारी पीडितको चेतावनी : ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठानियोस्

सहकारी पीडितको चेतावनी : ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठानियोस्

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १५:४२, काठमाडौँ

वित्तीय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन्। मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा सुनुवाई नगरे अफूहरू पनि प्रतिवादमा उत्रनेसमेत चेतावनी दिएका छन्।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रुपमा नलिन चेतावनी दिए।

ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै भने,‘आफ्नो अधिकार र न्यायको लागि मानव समाजको उत्पतिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरू पराजित छैनन् भने हाम्रो यो न्यायीक लडाईमा पनि शासकहरू घुँडा टेक्न बाध्य हुने निश्चित छ।’

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरूसँग पटकपटक भएका सम्झौताहरूलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताए।

केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए।

नेशन फस्टका अध्यक्ष डा नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए। लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरेकोप्रति आक्रोष व्यक्त गर्दै डा काप्रीले भने,‘ओली जी जनताको न्यायको लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले उहाँ सामन्ती, भ्रष्ट, दलाल र माफियाको मसिया पो भएको देखिन्छ।’

आन्दोलनका संरक्षक अगश्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कामजोर नठान्न चेतावनी दिए।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथली भाषामा भने,‘मेधशमा लघुवित्त, सहकारी र मिटरब्याजी महाजनहरूले सबैभन्दा धेरै चक्रबृत्ति ब्याजमा जनतालाई लुटिरहेका छन्, अब राज्यले न्याय नदिए उनिहरूलाई गाउँगाउँबाट लखेट्छौं।’

कोशी प्रदेश अध्यक्ष लुजा राईले आम पीडितहरूको न्यायका लागि महिलाहरू जस्तोसुकै लडाई लड्न पनि तयार रहेको बताईन्।

राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरू ज्यानको बाजि थापेर सडकमा उत्रेको बताए।

सोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरब्याजी लुटेराहरूलाई राज्य सञ्चालकहरूले नै संरक्षण गरिरहेको आरोप लगाईन्।

सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad