समाज


जनक शिक्षाले पाठ्यपुस्तक पुगे-नपुगेको अनुगमन गर्ने

जनक शिक्षाले पाठ्यपुस्तक पुगे-नपुगेको अनुगमन गर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार १३:४८, काठमाडौँ

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रमा देशभरका विद्यालयमा पाठ्यपुस्तक उपलब्धताको स्थिति मूल्याङ्कन गरी यसलाई थप प्रभावकारी बनाउन आगामी वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गर्ने भएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले हाल देशभरका एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको सङ्गठनात्मक सञ्जालमार्फत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको र त्यसको थप प्रभावकारिताका लागि देशव्यापी अनुगमन गरिने जानकारी दिए। 

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, पुस्तक व्यवसायी संघ र अभिभावक संघलगायतका प्रतिनिधि रहनेगरी केन्द्रीय अनुगमन संयन्त्र तयार गरिएको उनले बताए।

हाल देशभरका विद्यालय, स्थानीय तह, जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ, पुस्तक व्यवसायी सङ्घ, अभिभावक सङ्घलगायत सरोकारवालाहरूबीच आपसी समन्वयमा पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता गरिएको छ। 

यसलाई थप प्रभावकारी बनाउन वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गरिने छ। जसले पाठ्यपुस्तक उपलब्धताको स्थिति र अन्य समस्याको पहिचान गरी आवश्यक सहजीकरण गर्नेछु, प्रबन्ध निर्देशक पौडेलले भने।

केन्द्रले यही चैत मसान्तसम्म देशका ७७ वटै जिल्लामा ८० लाख थानभन्दा बढी पाठ्यपुस्तक बिक्रि वितरण भइसकेका, अधिकांश हिमाली तथा पहाडी जिल्लामा पुस्तक पुगिसकेका र सुगम तथा तराईका जिल्लाहरूमा निरन्तर बिक्रि वितरण भइरहेको जानकारी दिएको छ। 

आफ्नो जिम्मेवारीमा रहेका विद्यालयस्तरीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्र सुरुआतसँगै विद्यार्थीको हातहातमा पु(याउने सुनिश्चितता गरिएको र त्यसका लागि आफ्ना सम्पूर्ण संयन्त्र क्रियाशील रहेका केन्द्रले जनाएको छ।

नेपाल सरकारले केन्द्रलाई कक्षा एक, दुई र चारबाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा बिक्री विरण गर्ने जिम्मेवारी दिएको छ। ती तीन वटा कक्षाका पाठ्यपुस्तक उत्पादन गर्ने जिम्मा भने निजी क्षेत्रलाई दिइएको छ।

गत शैक्षिक सत्र २०८१ मा एक करोड ३९ लाख थान पाठ्यपुस्तक छपाइ गरी विद्यार्थीको हातहातमा पुर्‍याएको केन्द्रले यस वर्ष विद्यार्थीको सङ्ख्याका आधारमा एक करोड ५६ लाख थान पाठ्यपुस्तक पु(याउने लक्ष्य लिएको केन्द्रका प्रबन्धक निर्देशक पौडेलले बताए। 

विद्यार्थी सङ्ख्या र थप आवश्यकतालाई मध्यनजर गरी एक करोड ७० लाख थान पाठ्यपुस्तक उत्पादन गरी केन्द्रीय कार्यालय र मातहतका सात वटा प्रादेशिक कार्यालयमा समयमै पुर्‍याइसकिएको उनले जानकारी दिए।

‘पछिल्ला केही वर्षयता हामीले समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयमा पुर्‍याउने काम गरिरहेका छौँ, यसपटक पनि मातहतका निकायमा समयमै पाठ्यपुस्तक पुर्‍याइसकिएको छ। केन्द्र र प्रादेशिक कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा आफ्ना प्रादेशिक कार्यालय तथा पाठ्यपुस्तक बिक्री वितरणका लागि एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको संगठनात्मक सञ्जाल तयार गरिएको छु’ प्रबन्ध निर्देशक पौडेलले भने, ‘विगतका अनुभव र सिकाइ तथा कमजोरीको समीक्षा गरी पाठ्यपुस्तक उपलब्धताको सुनिश्चिता गरिएको छ । सबै सरोकारवाला निकायसँग समन्वय गरी प्रभावकारी बनाउन हामी लागिरहेका छौँ।’

कक्षा ११ र १२ को नयाँ शैक्षिक सत्रका लागि पनि केन्द्रले आफ्नो मुद्रणालयबाट १२ लाख थान पाठ्यपुस्तक उत्पादन गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad