समाज


जात्रामय भक्तपुर

यस्ताे छ नौदिने बिस्का जात्राको महिमा
जात्रामय भक्तपुर

नेपालखबर
चैत ३१, २०८१ आइतबार १४:३, काठमाडौँ

नयाँ वर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ। नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ।

यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरिनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक मात्रै नभई तान्त्रिक एवं धार्मिक विधिमा मनाउने गरिन्छ।

यस्तो छ बिस्काः जात्राको इतिहास

बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा ऐतिहासिक धेरै पक्षहरु फेला परेका छन् । संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर टौमढीस्थित यक्षमल्लको पालाको शिलालेखमा बिस्काःलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ।

भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा बिस्क्यात शब्द उल्लेख रहेको छ । अझ त्यसअघि थिमिमा प्राप्त नेपाल सम्वत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ।

बिस्काः जात्रा परापूर्वकालमा दुई दिनमात्र मनाइन्थ्यो । बिस्काः जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः (लिङ्गो) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो प्रा डा श्रेष्ठ भन्छन् । यक्ष मल्लको टौमढीको ने सं ५६१ को शिलापत्रमा यसलाई ‘विश्वजात्रा’ भनिएको छ।

ने सं ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा ‘विसक जात्रा’ उल्लेख छ । ने सं ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको ने संं ९१८ मा लेखिएको ठ्यासफुमा समेत विश्वजात्रा नै भनिएको उनी बताउँछन् । यता ने सं ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा ‘विसक्यात’ र भक्तपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि बिसक्यात उल्लेख छ।

लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपालमण्डलकै राजधानीका रुपमा यक्षमल्लसम्म निरन्तर रह्यो । यस अवधिको करिब ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो।

त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गल रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिङ्गो उठाउने गरियो । जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिनमात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीकोसमेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।

भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधीनस्थ कैयौँ राज्य स्वतन्त्र हुँदै भक्तपुरको भूभाग सानो हुँदै गएकालाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोटजस्ता ठाउँहरुमा समेत बिस्काः मनाउने चलन चलाएको बताइन्छ।

भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पूजापर्व गर्ने परम्परा बसाल्न भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जगज्र्याेति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ।

अहिलेसम्म तलेजुमा बिस्काः जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिने बताउदै उनले संस्कृत शब्द विश्वकेतु पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार बिसिक, बिस्क हुँदै बिस्का हुन पुगेको प्रा डा. श्रेष्ठ बताउँछन्। त्यसैको बिस्काबाट अपभ्रंश भएर बिस्केट हुन पुगेको उनको भनाइ छ । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रम सम्वत्अनुसार सौरमासका आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ।

यसरी सुरु हुन्छ बिस्काः

विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २८ गते बिहान स्थानीय बासिन्दा, मध्याह्नमा गुठी संस्थानबाट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ।

पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरवको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लैजानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यस वर्ष रथलाई वंशगोपाल पुर्याएर पुनः राति १ः०० बजे गहिटी ल्याएर राखिएको थियो।

जात्राको मुख्य आकर्षण पहिलो दिन २८ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउनु हो।

जात्राको किंवदन्ती

जात्राको पहिलो किंवदन्तीअनुसार प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान् राजकुमारको खोजी गर्ने क्रममा विभिन्न राज्यबाट राजकुमारहरु आउने, विवाह गर्ने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केका नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको किंवदन्ती छ।

यसबारेमा इतिहासविद् प्रा डा श्रेष्ठ बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको बताउँछन्। उनी भन्छन्, ‘यो जात्रा विश्वनाथ भैरव र उनकै शक्ति भद्रकालीको हो । लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जबर्जस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भनेर भ्रम फैलाउँदै जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई बिगार्न खोजिएको छ।’

यो जात्राका विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाह वंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतामा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ।

उनका अनुसार यो विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने स्पष्ट छ । यसमा वीर भनेर भैरवको बाहान वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वजा विश्वध्वाजा र वीरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो । यो जात्रा किराँतहरुसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरव र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पुर्याएको हो।

आठ रात नौ दिन जात्रामा के के हुन्छ ?

प्राचीनकालदेखि चल्दै आएको बिस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा समेत थपगरी काशी विश्वनाथ भैरवको जात्रासमेत समावेश गरी बिस्का जात्रा सञ्चालन गर्दै भक्तपुरवासीले मोहनी नखः(पर्व) पछिको प्रमुख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ।

जात्राको पहिलो दिन भैरवनाथको रथलाई टौमढीबाट तल र माथिका बासिन्दाले तान्ने गर्दछन् । जता तान्न सक्यो उतै लैजाने परम्पराअनुसार माथि लगे दत्तात्रयसम्म र तल लगे नासमनासम्म पुर्याएर फेरि फकाएर गहिटी पुर्याउनपर्ने परम्परा छ।

भैरवको रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौँ स्थानीय बासिन्दाहरूले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन्।

रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षक हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यस दिन बेलुकी सम्पूर्ण देवगणहरु आआफ्ना देवगृहको आसनबाट तल विराजमान गराइन्छन् । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छ । दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ।

उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ । बिस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३१ गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा, आकाशभैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।

लिङ्गो उभ्याउन बाधेको आठ वटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले सत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई ‘शत्रुहन्ता’ जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याएर लिङ्गो उठाउनेबित्तिकै स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ।

बिस्केटको पाँचाैँ दिन नयाँ वर्ष वैशाख १ गतेका दिन दिनभर जात्रा गरि साँझ लिङ्गो ढालिन्छ । त्यसकोलगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो।

जात्राको छैठो दिन नगरको मध्यभागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौँ दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट् जुधाउने जात्रा हुन्छ । जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा ‘द्यो स्वंगँ विइगु’ भनिन्छ।

बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad