समाज


२ विदेशीसहित नेपाली सेनाका २२५ जना अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

२ विदेशीसहित नेपाली सेनाका २२५ जना अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १८:५, काठमाडौँ

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ६२ अधिकृत क्याडेट तालिम, सि.सं. ४ स्नातक अधिकृत क्याडेट तालिम र सि.सं. ५२ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य रहेको समारोहमा तालिममा सहभागी अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।  

त्यस अवसरमा सिसं६२ अधिकृत क्याडेट तालिमका १६ महिला तथा माल्दिभ्स र जाम्वियाका २ जना सहित १३५ पुरुष गरी जम्मा १५१ जना, सिसं४ स्नातक अधिकृत क्याडेट तालिमका १ जना महिला सहित ८ जना र सिसं ५२ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका ६६ जना गरी कुल २२५ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्राप्त गरेका छन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिसं६२ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने प्रतिष्ठान ज्येष्ठ प्रशिक्षार्थी अधिकृत क्याडेट सरद बाबु कुँवर, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट निशा अधिकारी, सिसं४ स्नातक अधिकृत क्याडेट तर्फ प्रथम हुने सलिन ढकाल, सिसं ५२ पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट खेमराज विश्वकर्मालाई श्रेष्ठताको प्रतीक खुकुरी एवं छडी प्रदान गरे।

सोही अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र माल्दिभ्स र  जाम्वियाबाट तालिममा सहभागी २ जना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई नेपाली मिलिटरी एकेडेमी मिडालियन प्रदान गरे।

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले नवआयुक्त अधिकृतहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै आगामी सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे।

उनले राष्ट्र र जनताको लागि सैनिक सेवा मार्फत आफ्नो जीवन समर्पण गर्न लिएको अठोटको सराहना गर्दै सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावक र आफन्तजनमा आभार व्यक्त गरे। 

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आई रहेको कुरा व्यक्त गर्दै आफ्नो विशिष्ट साङ्गठनिक क्षमताका आधारमा विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरू, नागरिक सैनिक सम्बन्ध विस्तार, विकास निर्माण लगायतमा नेपाली जनतासँग काँधमा काँध मिलाउँदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही कार्य गर्दै आई रहेको बताए।

आयुक्त पद प्रदान कार्यक्रममा माननीय रक्षामन्त्री मानवीर राई, रक्षा सचिव रामेश्वर दंगाल, पूर्वप्रधान सेनापतिहरू, बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, पूर्व शिक्षाधिकृत, प्राध्यापकहरू, भक्तपुर जिल्लास्थित सरकारी निकायका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, सैनिक सहचारीहरू, सञ्चारकर्मी एवं नव आयुक्त अधिकृतहरूको परिवारजनको उपस्थिति थियो।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेट गरी ५४४७ जना तथा १३३६ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्। 

सन् २०१२ बाट विदेशी शिक्षार्थीहरू समेत सम्मिलित गराई तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरूका २९ जना विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन्। आजको समारोहमा नवआयुक्त अधिकृतहरूलाई आ–आफ्नो अभिभावक लगायत निकटस्थहरूले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad