समाज


घाइते हात्ती बस्ती नजिक आउन थाले

घाइते हात्ती बस्ती नजिक आउन थाले

नेपालखबर
चैत २८, २०८१ बिहिबार २१:३७, झापा

स्थानीय जङ्गलमा वर्षौंदेखि विचरण गर्दै आएका हात्ती घाइते अवस्थामा भेटिन थालेका छन्। केहीको उपचार भएको छभने अधिकांश घाइते अवस्थामा भौँतारिएका थालेका हुन्।

मेचीनगर नगरपालिका–१ मा बुधबार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिकको निजी वनसम्म आएको थियो। खुट्टा खोच्याउँदै हिँड्ने उक्त हात्तीको तिघ्रा सुन्निएर डम्म भएको प्रत्यक्षदर्शी रोशन तामाङले बताए।

‘टाढैबाट हेर्दा हात्तीको तिघ्रा सुन्निएको प्रस्टै देखिन्थ्यो’, उनले भने, ‘भित्रभित्रै घाउ पाकेको पनि हुनसक्छ। हिँडाइ एकदमै सुस्त छ। मान्छे नजिक जाँदा पनि आक्रामक हुँदैन।’

केहीदिनअघि मेचीनगर–१३ चारआलीस्थित प्रगति सामुदायिक वनमा अर्को वयस्क हात्ती आँखा नदेखेर हिँड्डुल गर्न नसक्ने अवस्थामा भेटिएको थियो। पूर्व–पश्चिम राजमार्गको नजिक आइपुग्दा सयौँ सवारीसाधनको ओहोरदोहोरले बिच्किएर गाउँ पस्ला भनेर डिभिजन वन कार्यालय झापाले उक्त हात्तीलाई जङ्गलमै धपाउन सुरक्षाकर्मी परिचालन गरेको थियो।

बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमामा पर्ने पाँचपोखरी सामुदायिक वनमा घाइते एउटा हात्तीको दुई साताअघि उपचार गरिएको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुुख भरतबाबु श्रेष्ठका अनुसार पुच्छरसमेत चुँडिएको उक्त हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट दक्ष चिकित्सक ल्याइएको थियो। उपचारपछि हात्ती स्वस्थ बनेको उनले बताए।

चारआलीको जङ्गलमा देखिएको आँखा नदेख्ने हात्ती मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा र भद्रपुर क्षेत्रमा पटकपटक गाउँ नजिक देखापर्ने गरेको छ। चोटले रन्थनिएर गाउँतिर भौँतारिँदै पुग्ने गरे यो हात्तीबाट स्थानीयवासी त्रसित छन्।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले यहाँका जङ्गलमा थुप्रै हात्ती घाइते र रोगी अवस्थामा रहेका बताए। घाइते र रोगी हात्तीहरू भोको समेत हुने भएकाले आहाराको आशमा आचार भएर मानव बस्ती नजिक आउने गरेको उनको भनाइ छ।

‘मानवीय आक्रमणमा परेर अधिकांश रैथाने हात्ती घाइते भएका छन्’, उनले भने, ‘केही चाहिँ आपसमा झगडा गर्दा घाइते भएका हुन्।’ मधुमासको अवधिमा वयस्क भाले हात्तीले पोथी हात्तीको खोजीमा निस्कँदा बलियो अर्को भाले हात्तीको आक्रमण सामना गर्नुपर्ने हुन्छ। त्यसबेला झगडामा कमजोर हात्ती घाइते हुने गरेका उनले जानकारी दिए।

बथानमा हिँड्ने हात्तीहरू सङ्गठित र स्वस्थ हुने बताउँदै वन्यजन्तु संरक्षण अभियन्ता खरेलले एक्लै डुल्ने रैथाने हात्तीले जङ्गलभित्र आफ्नै साथीको र जङ्गलबाहिर मानिसको आक्रमण भोग्नु परिरहेको बताए। झापाका जङ्गलमा दुई दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्तीले आश्रय लिँदै आएका छन्। गम्भीर प्रकृतिका चोट लागेका हात्तीहरु उपचार नपाई जङ्गलभित्रै मर्ने गरेका छन्। धेरैजसो हात्तीको शरीरका विभिन्न अङ्गमा मानिसले प्रहार गरेको भाला, ढुङ्गा र धारिलो वस्तुले चोटैचोट देखिने गरेको खरेलले बताए।

जङ्गली हात्तीको उपचार गर्न सजिलो नभएको डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले बताए। हात्तीलाई लाग्ने सामान्य चोटपटक प्राकृतिक रूपमै ठीक हुने उनको भनाइ छ। हात्तीलाई उपचारका क्रममा जङ्गलभित्रै बेहोस बनाएर घाउमा आवश्यक चिरफार गर्ने र औषधि लगाउने गरिन्छ।  

‘जङ्गली हात्तीको उपचार गर्नु घरपालुवा जनावरको उपचार गरेजस्तो सजिलो हुँदैन,’ उनले भने, ‘दक्ष चिकित्सक प्रकृति संरक्षक कोषबाट बोलाउनुपर्छ। उपचार महँगो पर्छ। तैपनि उपचार गर्दा बाँच्ने अवस्था छभने हामी जहाँबाट ल्याएर भए पनि जङ्गली घाइते हात्तीको उपचार गर्छौं।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad