नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्।
व्यवस्था परिवर्तनका लागि उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाइ हुने उनको भनाइ थियो।
‘आज देशभरका युवाहरू साक्षी राखेर भन्न चाहन्छु- पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस। त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ। मन छैन भने आऊ राजनीतिमा गर्न पाउँछौ,' उनले भने, 'साच्चै जनताको सेवा गर्न मन छ भने, साच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा। आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौँ। त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठूला व्यापारी पनि हुन्, उद्योगपति हुन्। आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने? म सोध्छु।’
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तीहरू सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया