नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ।
काठमाडौँस्थित बारको केन्द्रीय कार्यालयमा केही बेरअघि मत गनेर सकिएको हो।
ललितपुर जिल्ला अदालत बार एसोसिएनको मतगणना सकिएसँगै अन्तिम नतिजा आएको हो।
यसअघि नै विजयप्रसाद मिश्र नेतृत्वको प्यानलको जित निश्चित भइसकेको थियो।
ललितपुरमा उनले अझ केही मत बढाएका छन्।

अब विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ। यसका लागि अहिले दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ।
मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन्।
उनको प्यानलबाट महासचिवमा केदारप्रसाद कोइराला छन् भने उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ उम्मेदवार छन्।
अन्तिम नतिजा सार्वजनिक हुनुअघि नै उनीहरूको जित पक्का भइसकेको थियो।
अध्यक्षका अर्का प्रतिस्पर्धी रमन श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपानिकट कानुन व्यवसायीको प्यानलबाट उठेका हुन्।
Shares

प्रतिक्रिया