समाज


बागलुङ कालिकामा एकैदिन तीन लाख भक्तजन

बागलुङ कालिकामा एकैदिन तीन लाख भक्तजन

नेपालखबर
चैत २४, २०८१ आइतबार १३:२४, गलकोट (बागलुङ)

गलकोट (बागलुङ) चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन्। चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। 
    
चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो। चैतेदसैँको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। 

चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि भइरहेको खड्काले बताए। 

उनले मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनलाई आउने गरेको बताउँदै चैतेदसैँको मुख्य दिन एकैपटक एक हजार चारपाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिए। चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि मुख्य दिन बिहानै ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए।

'अहिलेसम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुनमान छ, सिसी क्यामेरा, फूलप्रसाद बिक्रीको सङ्ख्या, भेटीको सङ्ख्या र एक किलोमिटरभन्दा लामो लाइन दिनभर भएकाले चैतेदसैँको मुख्य दिनमात्र तीन लाख दर्शनार्थी र चैतेदसैँभर छ लाख पर्यटक भित्रिएका छन्', अध्यक्ष खड्काले भने, 'चैतेदसैँमा बलीको सङ्ख्या घटे पनि नगद भेटी चढाउनेको सङ्ख्या बढेकाले एकैदिन रु ११ लाख भेटी सङ्कलन भएको हो ।'

नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैतेदसैँ मेला यस वर्ष चैतको २० देखि २५ गतेसम्म चलिरहेको छ । नवरात्रको चौथो दिनदेखि नै कालिका मन्दिरको पार्किङस्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो। चैतेदसैँ मेलामा रु तीन करोडभन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा रहेको छ। कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन व्यवसायी एञ्जिल शाक्यले बताए।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ। कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ। चैतेदसैँ मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad