प्रवास


माल्टामा नयाँ वर्षको स्वागतमा नेपाल डे मनाइँदै, सरकारले सहयोग नगरेको गुनासो

माल्टामा नयाँ वर्षको स्वागतमा नेपाल डे मनाइँदै, सरकारले सहयोग नगरेको गुनासो

शेरबहादुर परियार
चैत २४, २०८१ आइतबार १३:२५, वारसा (पोल्यान्ड)

युरोपेली मुलुक माल्टामा नेपाली नयाँ वर्षमा 'नेपाल डे' कार्यक्रम हुने भएको छ।

एनआरएनए माल्टाले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारी १४ अप्रिलमा (वैशाख १) मा 'नेपाल डे' आयोजना गर्न लागेको हो। 

कार्यक्रम माल्टाको स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु भई साँझको ६ बजेसम्म चल्नेछ। 

माल्टा सरकारका उच्च पदस्थ प्रमुख अतिथि हुने यस कार्यक्रम माल्टाको राजधानी भालेट्टास्थित ट्रिटोन फाउन्टेनमा हुने बताइएको छ।

उक्त कार्यक्रमले माल्टाका नागरिकलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने आशा आयोजकले गरेका छन् ।

कार्यक्रममा माल्टामा रहेका नेपालीलाई राष्ट्रिय झण्डा फहराउँदै आफ्नो परम्परागत वेशभुषा, बाजागाजा तथा झाँकीसहित उपस्थित हुन आयोजकको तर्फबाट अनुरोध गरिएको छ।

नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले 'नेपालको पहिचान, हाम्रो गौरव' नारासहित 'नेपाल डे' मनाउने तयारी गरिएको आयोजक एनआरएनए माल्टाका अध्यक्ष रेमलाल (रेम्स) खनालले बताए।

माल्टामा क्रियाशील संघसंस्थाको सहकार्यमा विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी भइरहेको खनालले जानकारी दिए।

नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्धनले देशको आर्थिक विकासमा योगदान गर्ने यस प्रकारका कार्यक्रमलाई नेपाल सरकरले सहयोग नगरेको उनको गुनासो छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा नेपाल चिनाउन गरिने यस्ता कार्यक्रमलाई सामान्य सहयोग पनि गर्दैन। हामीले नेपाल पर्यटन बोर्डलाई राष्ट्रिय झण्डा, फ्लाग पिन लगायत सामान्य सहयोगको अनुरोध गर्दा बजेट नै नभएको रुखो जवाफ आएको दुखेसो पोखे।

‘नेपाल सरकारको देशमा धेरै विदेशी मुद्रा भित्र्याउँदै पर्यटनबाट अर्थतन्त्रको विकास गर्ने भन्ने नारा लगानी र सहकार्यमा मात्र सम्भव हुन्छ। अन्यथा गफमा मात्र सीमित हुन्छ,’ उनले भने।

३ सय १६ किलोमिटर क्षेत्रफल भएको युरोपेली मुलुक माल्टामा लगभग साढे ५ लाख मात्र जनसंख्या छ। देशको मुख्य अर्थतन्त्र पर्यटनले धानेको माल्टाले सन् २०२४ मा ३५ लाख ६० हजार पर्यटक भित्र्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad