समाज


सात समूहले पायो सगरमाथा आरोहण अनुमति

सात समूहले पायो सगरमाथा आरोहण अनुमति

नेपालखबर
चैत २४, २०८१ आइतबार १३:१७, काठमाडौँ

यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन्। 

विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ। उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।

विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन्। मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन्।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी
सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ। सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ। हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ।

खुम्बु आइसफल क्षेत्रमा अहिले भर्‍याङ् राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ। 'आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको छ', निर्देशक अवस्थीले भने, 'दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ। हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ।'

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ। यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ। दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन्। खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ। यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ। सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad