समाज


वीरगन्जबाट काठमाडौँ आइरहेको भारतीय एम्बुलेन्समा ठूलो मात्रामा अवैध लागुऔषध

एम्बुलेन्स चालकसहित ६ जना पक्राउ
वीरगन्जबाट काठमाडौँ आइरहेको भारतीय एम्बुलेन्समा ठूलो मात्रामा अवैध लागुऔषध

बरामद लागुऔषध र पक्राउ गरिएका व्यक्ति।


नेपालखबर
चैत २३, २०८१ शनिबार १३:५८, काठमाडौँ

कान्ति लोकपथअन्तर्गत ललितपुरमा प्रहरीले शनिबार बिहान भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गरेको छ। 

नियमित सवारीसाधन चेकजाँचका क्रममा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्सबाट अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल ९ हजार ४ सय ८ पत्तामा ९४ हजार ८० वटा बरामद गरिएको जानकारी प्रहरीले दिएको हो। 

प्रहरीका अनुसार लागुऔषध बरामदसँगै एम्बुलेन्स चालकसमेत ६ जनालाई पक्राउ गरिएको छ। जसमा दुई जना भने बालबालिका छन्। 

पक्राउ गरिएकामा एम्बुलेन्स चालक भारत, बिहार प्रान्त, पूर्वी चम्पारण, मोतिहारी जिल्ला रक्सौल नगर वार्ड नं. ५ पछियाटोल स्थायी वतन
भएका वर्ष २२ का मोहम्मद उमर सिद्दिकी, मोतिहारी जिल्लाकै टुमरिया ग्राम पञ्चायत वार्ड नं. ५ स्थायी वतन बताउने वर्ष २० का समिर आलम, मोतिहारी जिल्लाकै राजाबजार नगर वार्ड नं. ३३ स्थायी वतन बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी र मोतिहारीकै पलानवा ग्राम पञ्चायत वार्ड नं. ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन छन्।

उनीहरूका साथमा रहेका तीनवटा मोबाइल पनि प्रहरीले जफत गरेको छ। 

बरामद गाडी तथा सामानसहित पक्राउ परेका मानिसहरूलाई कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले दिएको जानकारीअनुसार शनिबार बिहान १:५५ बजे ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोस्टमा खटिएको प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा सो भारतीय एम्बुलेन्स शंका लागेर रोकी चेकजाँच गर्दा लागुऔषध भेटिएको हो। 

प्रहरीले भनेको छ, ‘एम्बुलेन्स चालक मोहम्मद उमर सिद्दिकी एम्बुलेन्सबाट निस्किएर भाग्ने प्रयास गरेकाले निजलाई तत्काल नियन्त्रणमा लिई एम्बुलेन्सको तलासी लिँदा एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुईवटा छुट्टाछुटै झोलामा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाईछिपाई ल्याएको अवस्थामा फेला परेको हो।’

भाग्न खोजका चालकलाई प्रहरीले तत्काल पक्राउ गरी लागुऔषध तथा अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad