समाज


नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र

नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र

नेपालखबर
चैत १९, २०८१ मंगलबार ७:३८, नवलपरासी

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताए।

आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको उनले बताए। दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनको भनाइ छ। 

जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने उनले जानकारी दिए। एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको उनको भनाइ छ। 'पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ', उनले भने।

२०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो। 

यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ। यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ। एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ  मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ।

राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन्। अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ। तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad