समाज


भिडिओ खिचेको मन्दिर नेपालमा भेटिएन, दुर्गा प्रसाईं भारत पुगेको प्रहरीको निष्कर्ष

सामाजिक सञ्जालबाट चुनौती दिइरहँदा पनि प्रसाईंबारे प्रहरी बेखबर
भिडिओ खिचेको मन्दिर नेपालमा भेटिएन, दुर्गा प्रसाईं भारत पुगेको प्रहरीको निष्कर्ष

उजिर कार्की
चैत १८, २०८१ सोमबार २२:१४, काठमाडौँ

काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं कार्यक्रम नसकिँदै फरार भए। उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ। 

प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन।

दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी  कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए।

त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो। उक्त मन्दिरको खोजी गरिएको प्रहरीको दाबी छ। 

‘हामीले त्यो खालका मन्दिर तराईमा हुने भएकाले नवलपरासीदेखि झापासम्म फोकस भएर हेर्‍यौँ, कहीँ पनि त्यस्तो मन्दिर भेटिएन। देशका अन्य भागमा पनि खोज्यौँ तर त्यो मन्दिर नेपालको नभई भारतको हो भन्ने निष्कर्षमा पुगेका छौँ,’ स्रोतले नेपालखबरसँग भन्यो।

उनी तीनकुनेमा हिंसात्मक प्रदर्शन भएकै राति कान्ति लोकपथको बाटो हेटौँडा हुँदै भारत प्रवेश गरेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रसाईंले भने सोमबार बेलुका अर्को स्टाटस सार्वजनिक गरेका छन्। ९ बजेपछि सार्वजनिक भएको स्टाटसमा उनले आफू नेपालमै रहेको जिकिर गरेका छन्। 

शुक्रबार पक्राउबारे निर्णय गर्न ढिलाइ हुँदा प्रसाईं भाग्न सफल भएको प्रहरीको दाबी छ। 

‘दिउँसोसम्म निगरानीमै राखेका थियौँ। तर बेलुका आन्दोलनकारीले बितण्डा मच्चाएपछि हामी त्यता केन्द्रित भयौँ। पक्राउ गर्न अनुमति पनि आएको थिएन। राति मात्रै पक्राउ गर्न अनुमति आयो, त्यतिबेला उनी मोबाइल बन्द गरेर फरार भइसकेका थिए। हामीले सम्भावित एरियामा सर्कुलर पनि गरेको हो तर अहिलेसम्म पत्ता लागेको छैन,’ प्रहरीका एक उच्च अधिकारीले भने।

त्यसदिन तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याएका उनी त्यसपछि कार्यक्रमस्थलमा देखिएका थिएनन्। उनलाई पक्राउ गर्न लागिएको भन्दै भीडको बलमा भागेर एउटा घरको सटरभित्र लुकेका थिए। त्यहाँबाट लुकेर उनी र धर्मगुरु पुष्कर इमाडोलस्थित पुष्करको घरमा पुगेको प्रहरीको दाबी छ। 

अन्य प्रमाणले पनि उनीहरू त्यहाँ पुगेको पुष्टि हुने प्रहरीको दाबी छ। त्यहाँ आफ्ना सहयोगीसहित पुगेका प्रसाईं फलफूल र चिया खाएर निस्किएपछि कहाँ पुगे भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन।

तर प्रसाईं भने दिनदिनै सामाजिक सञ्जालमा सन्देश छाडिरहेका छन्। 

संसदमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चैत १५ गते दुईजनाको ज्यान लिने घटनामा जोजो संलग्न भ एपनि कारबाही गरेरै छाड्ने बताएका छन्।

प्रहरीले अहिलेसम्म यो घटनामा ४१ जनाविरुद्ध मुद्दा चलाइसकेको छ। दुर्गा प्रसाईंका सुरक्षा दस्ताका कमान्डरसहित चारजना पक्राउ परिसकेका छन्। सोमबार उनका सहयोगी देवी संग्रौलालाई पनि प्रहरीले उनकै निवास भैँसेपाटीबाट पक्राउ गरेको छ। 

पक्राउ परेकालाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव र संगठित अपराधमा प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ। आन्दोलनका कमान्डर तोकिएका प्रसाईं फरार भएपछि आन्दोलनकारी उक्साएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि प्रहरी हिरासतमा छन्।

थप व्यक्ति पनि पक्राउ गरिरहेको प्रहरीले उनीहरूलाई मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad