विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३० हजार आठ सय ४७ पुगेको छ।
यो तथ्यांक आइतबार बिहान पाैने बजेसम्मको हो।
कोरोना भाइसबाट विश्वभर हालसम्म ६ लाख ६२ हजार नौ सय ६७ जना संक्रमित भएका छन्। शनिबार एकै दिन विश्वभर ६६ हजार चार सय नौ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन्।
अहिलेसम्म संक्रमित मध्ये १ लाख ४१ हजार नौ सय ५१ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्।
अमेरिकामा शनिबार एकैदिन कोरोना संक्रमणबाट पाँच सय १५ जनाको मृत्यु भएको छ। शुक्रबार त्यहाँ ३ सय ९८ जनाको मृत्यु भएको थियो।
अमेरिकामा दिनहुँ कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ सय ११ पुगेको छ।
त्यहाँ शनिबार एकै दिन १९ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोना संक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको छ।
गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा आठ सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ५ हजार नौ सय ७४ जना नयाँ संक्रमित थपिएका छन्।
इटालीपछि शनिबार स्पेनमा धेरैले ज्यान गुमाएका छन्।
यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा आठ सय ४४ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार नौ सय ८२ जनाको मृत्यु भइसकेको छ।
चीनमा शुक्रबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ८१ हजार चार सय ३९ जना संक्रमित भएका छन्।
त्यसैगरी शनिबार फ्रान्समा ३ सय १९ जना, युकेमा २ सय ६०, इरानमा १३९, जर्मनीमा ८२, नेदरल्यान्डमा ९३, बेल्जियममा ६४, स्वीटजरल्यान्डमा ३३ जनाको कोरोना भइरस संक्रमणबाट मृत्यु भएको छ।

प्रतिक्रिया