काठमाडौं चाबहिलमा युवाहरुको समूहबीच भएको ग्यांग फाइटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा दुई जना गम्भीर घाइते छन्।
चाबहिलस्थि पशुपति मित्र मावि अगाडि सोमबार भएको ग्यांग फाइटमा ओखलढुङ्गा घर भई भक्तपुर जगाती वस्ने वर्ष २८ को ज्याक भन्ने विजय बानियाँ र रातोपुल वस्ने वर्ष २१ को सुदिप घिमिरे गम्भीर घाइते भएका हुन्।
चक्कु प्रहारबाट घाइते भइ लडी रहेको अवस्थामा प्रहरी वृत्त गौशालाको टोलीले उनीहरुको उद्धार गरी हेल्पिङ्ग हेण्ड्स अस्पतालमा उपचारको लागी लगेको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। वाँनियाको पेटमा गहिरो रुपमा काटिएकोले भेण्टिलेटरमा राखी उपचार भइरहेको र सुदिपको छातिमा गहिरो चोट लागेकोले आईसीयूमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न उदयपुरको गाईघाट घर भई कपन वस्ने वर्ष २४ को असिम लामा, सोही ठाउँका वर्ष २४ को सरोज श्रेष्ठ, भारत दार्जलिङ्ग घर भई धुम्वराई अर्पाटमेण्टमा वस्ने वर्ष २१ को सरोज राई र कास्कीको रामनगर घर भई नार्गाजुन ग्रिन भिलेजमा वस्ने वर्ष २१ को निश्चल आले मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
लागु औषध सेवनको उन्मादमा गितारमा लुकाई छिपाई राखेर ल्याएको चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग गरेको चक्कु र गितार प्रहरीले असिम लामाको कोठाबाट वरामद गरेको छ।

प्रतिक्रिया