काठमाडौँको तीनकुनेस्थित भवनमा कार्यालय राखेका अधिवक्ता राज सुवालले राजावादी आन्दोलनकारीले लुट्दै गरेको भिडिओ खिचेपछि पत्रकार सुरेश रजकको हत्या गरिएको बताएका छन्।
राजावादीका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा अधिवक्ता सुवालका सेन्टर फर इन्टिलेक्ट्युअल प्रपर्टी नेपाल प्रालि तथा सुवाल ल एसोसिएट्सको कार्यालय रहेको भवनमा आगजनी गरिएको थियो।
आन्दोलनकारीले लगाएको आगोमा परी कार्यालयका सम्पूर्ण कागजात, मिसिल, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामान जलेर नष्ट भएको उनले बताएका छन्।
यसै क्रममा उनले पत्रकार रजकको हत्या कसरी भएको थियो भन्ने विषयमा सामाजिक सञ्जालमार्फत बताएका छन्।
‘भ्रामक तथ्यको खेती भयो। जुन घरमा पत्रकार जलेर मृत्यु भयो, त्यो घरमा छतमा जाने बाटो बन्द थियो, प्रहरी गएकै थिएन र जुन घरमा प्रहरी बसेर अश्रुग्यास हान्यो भनेको छ त्यो घरमा आगलागी भएको हैन’, अधिवक्ता सुवालले भनेका छन्, ‘पत्रकारको हत्या आन्दोलनकारी लुटेराहरूले लुट्दै गरेको भिडिओ पत्रकारले खिचेपछि पत्रकारलाई आगो लागेको कोठामा थुनिदिएका हुन्। ताला लगाएको हाम्रो बन्द कार्यालयमा लुटेराहरू भित्री झ्यालबाट पसेर लुट मचाएपछि आगजानी गरेको हो। तीनकुनेको सिसाको घर एउटा हैन, दुइटा हो। पूर्वको लुटेपछि आगो लाइदिएकोमा आगोमा परी पत्रकारको मृत्यु भएको सहकारीको घर हो भने पश्चिमको प्रहरीले उपयोग गर्यो भनेको घर हो। आन्दोलनकारी लुटेराहरूले लुट मचाएपछि आगजनी गरेका हुन्। लुटेरा तथा अपराधीहरूलाई कानुनबमोजिम कारबाही गरिनुपर्छ।’
भिडिओ:
— Nepalkhabar (@nepalkhabar) March 29, 2025आगजनी भएको भवनको ताला लगाइएको कोठाबाट रिपोर्टिङ गर्दैे थिए सुरेश रजक pic.twitter.com/8HQCo4Xrco
Shares

प्रतिक्रिया